पथरीमा लैङ्गिक हिंसा बिरुद्धको कार्यक्रम

मंसिर १८ गते पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले दोस्रो कार्यक्रमका रुपमा शनिश्चरे चौकमा लैङ्गिक हिंसा विरुद्धको चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सदस्य यशोदा अधिकारीले लैङ्गिक हिंसा अन्त्य गर्न नारी र पुरुषको समान सहकार्य आवश्यक रहेको चर्चा गरेका थिए । उनीले हिंसामा बढी मात्रामा महिला पीडित भएकाले महिला अधिकारका लागि तीन तहका सरकारले कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए । उनले कार्यक्रममा प्रस्तुत भएका बालबालिकाका कविता र गीतले लुकेर बसेको प्रतिभा उजागर भएको प्रष्ट्याएका थिए ।

कार्यक्रममा, पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोला, ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मिराज अधिकारी, नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, महिला अगुवा चन्द्रकला चेम्जोङ सहितले लैङ्गिक हिंसा विरुद्ध सवै जुट्न आग्रह गरेका थिए ।

सो अवसरमा भएको वडा नम्वर ४, ८ र ९ नम्वरका विद्यालयस्तरीय कविता प्रतियोगितामा वडा नम्वर ९ को मेरिगोल्ड मेमोरियल स्कुलकी एलिशा नेम्वाङ पहिलो बनेका थिए । त्यसैगरी, मेरिगोल्डकै उत्सुक खरेल दोस्रो, सिंहबाहिनी माविकी लक्ष्मी राई तेस्रो र ग्रेट ग्रेस स्कृुलकी अमीक्षा बराल सान्त्वना वने । विद्यार्थीबीचकै म्यूजिकल चियर्समा मेरिगोल्डकी कुन्ता भण्डारी पहिलो, सिंहवाहिनीकी दुर्गा खत्री दोस्रो र सिंहवाहिनीकै दिलकुमारी खत्री तेस्रो भए ।

हण्डीफोरमा भनें ग्रेट ग्रेस इंगलिस स्कुलका क्षितिज रम्तेल विजयी भए । सो अवसरमा, श्रीजगा आधारभूत विद्यालयका आकृति राउतको समूहलाई गायनमा र सीता आदर्श आधारभूत विद्यालयका बालबालिकालाई नृत्यमा सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

निर्मला गदाल संयोजक रहेको सोही कार्यक्रममा लायन्स क्लब अफ पथरी शनिश्चरेको डीजी सर्भिस सप्ताह अन्तर्गतको रक्तदानमा ७२ पिन्ट रगत संकलन भएको छ । नगरपालिकाले अव मंसिर २४ गते पथरी क्याम्पसमा लैङ्गिक हिंसा विरुद्धको यसैखाले चेतनामुलक कार्यक्रम गरी यो अभियान सम्पन्न गर्ने भएको छ । पहिलो कार्यक्रम हसन्दहमा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *