कविता

बिन्दु दाहाल (मुकदर्शक)
दमक, झापा

सुस्ता र लिपुका याद बारम्बार भएपछि
बाँचू म कसरी साथी मुटु टुक्री गएपछि ।

मानेभन्ज्याङ आँखामा झल्झली किन आउँछ ?
महेशपुर पीडाका विरही गीत गाउँछ ।

टनकपुर टन्केर पिलो जस्तै सताउँछ
कालापानी मरेँ भन्दै कोमामा छु बताउँछ ।

लिम्पिया सिसवा हाम्रा लाबोझी ,होलिया सरी
कोइलाबास या टाँडी सिसैया रुन्छ धर्धरी ।

हेरौं गोबर गाडा त्यो सप्तरीमा पुगीकन
बुद्ध नगर मोरङ्को मर्चावर छ उल्झन ।

वाल्मीकि आश्रमै खायो चितवन रुँदै छ यो
मणि चौर ,कटैयामा सिमाना मिचिँदै गयो।

कृष्ण नगर आनन्द कन्चनपुरमा पनि
चिवा भन्ज्याङ पूर्वीय पाँचथर लुट्यो अनि ।

टोला चमार बाराको सङ्ग्रामपुर सर्लही
बर्दियाको गुलेरीया डुब्दै छ आँसुमा अझै ।

मेचीको नगरौँ चर्चा मुटुमा चोट लाग्दछ
बेलहिया रुपन्देही गुहार अझ माग्दछ ।

वस्ती तुम्लिङ ताप्लेजुङ् लालापट्टी छ सप्तरी
नारायणपुरै बाँके ,कैलाली भजनी मरी ।

हरिहरपुरै सिङ्गै शिवगन्ज सुनैसरी
परासन निल्यो ठोरी बुझाऊँ मन के गरी ।

जताततै मिचेको छ केही हुन् नमुनाहरू
भए चुप सबै हामी बाँकी राख्दैन झन् अरू ।

कुर्सीमा अल्झिए सारा शासक झगडा गरी
रुँदै छन् न्याउली डाँफे कोकले गौँथली चरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *