आगलागी पीडित परिवारलाई जनप्रतिनिधिबाट सहयोग

असार २६ गते, पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्वर –८, मंगलबारेका कैलास शाहको गएराती घर जलेर नष्ट भएपछि आगलागीप्रति दुःख व्यक्त गर्दै नगरका जनप्रतिनिधिहरुले सहयोग गरेका छन् । विहिबार शाहको घरमै पुगेर आर्थिक सहयोग गर्दै सान्त्वना समेत दिएको हो ।

नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहित ८ नम्वर वडाध्यक्ष बाबुराम दाहाल, कार्यपालिका सदस्य, वडा सदस्यहरु त्यहाँ पुगेर पीडित परिवारलाई सान्त्वना दिँदै क्षतिपूर्तीमा पहल गर्ने वताए ।

पीडित परिवारले रुदैँ उपप्रमुख वास्तोला सहितका जनप्रतिनिधिलाई अंगालो हालेका थिए । यस्ता आपत विपतमा आफुहरु सधै नगरवासीलाई साथ र सहयोग दिन तत्पर रहेको वताउँदै जनप्रतिनिधिहरुले पीडित परिवारलाई धैर्य गर्न आग्रह गरेका थिए । ८ नम्वर वडा कार्यालयकोतर्फबाट वडाको विपद् व्यवस्थापन कोषमार्फत तत्काललाई १० हजार रुपैयाँ राहत प्रदान गरिएको वडाध्यक्ष दाहालले वताए ।

बुधबार राती आगलागीबाट ५ कोठे पक्की घरका सम्पूर्ण सरसामान, लत्ताकपडा, भाडावर्तन, खाध्यान्न जलेर नष्ट भएको थियो । आगलागीमा परेर २ वटा मोटरसाइकल समेत जलेका छन् । शाहको घरमा ग्यासको डिलर, पेट्रोल र डिजेल समेतको ब्यापार रहेकाले पनि आगो ग्यास र पेटेलमा सल्किएर निभाउन समस्या भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

राती २ बजे लागेको आगो नियन्त्रण गर्न विहान ५ बजे सम्म लगोको थियो । दमक र सुन्दरहरैचाको दमकल, प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट करिब ६० लाख बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । विद्युत सर्ट भएको अनुमान गरिएपनि पानी परेर ओसिएको अवस्थामा भएको आगलागीको यकिन कारण भनें खुलिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *