बजार भित्र घर निर्माण गरी बस्नेले वडा कार्यालयलाई भाडा तिर्नु पर्ने

जेठ १३ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नं. ४, मा रहेको पुरानो ‘वयरवन बजार’ भित्र घर निर्माण गरी बसोबास गर्ने प्रत्येक व्यक्तिहरुले वडा कार्यालयलाई बार्षिक रुपमा रकम तिर्नु पर्ने भएको छ । बजारमा सटिएको जनता आधकारभूत विद्यालय र गाउँपालिकाको जग्गा उपभोग गरेबापत बार्षिक रकम तिर्नुपर्ने भएको हो ।

सोमबार बजार व्यवस्थापन समितिले भेलाको आयोजना गरेको थियो । भेलामा गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजकुमारी इङ्नामले उपस्थीत बजारबासीहरुलाई बार्षिक रकम तिर्नुपर्ने बताएका थिए । यस अघि गाउँपालिकाले सरकारी जग्गाहरु नापी गरेर प्रत्येकको डाटा संकलन गरिसकेको छ ।

भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष काफ्लेले उति खेरको बजारमा बस्ने पुराना मान्छेको एक दर्जन नाम पढ्र्दै पछिल्लो समयमा सरकारी जग्गा घर बनाउँदा मिचिएको बताए । चालु आर्थिक बर्षमा गाउँपालिकाले ‘बयरवन बजार’ विकासको लागी बयरवन स्वास्थ चौकी,बयरवन बजार,सार्वजानीक शौचालय, ढल निकास र पिचरोडको लागी ५० लाख भन्दा बढीको योजनाको काम गरेकोले बजार बासी सवैले बजार विकासमा सहयोग गर्न आग्रह गरेका थिए ।

त्यसैगरी उपाध्यक्ष इङ्नामले ऐलनी जग्गा जताततै अतिक्रमण हुने गरेकोले अतिक्रमणको गाउँपालिकाले खोजि गर्ने बताइन् । उनले भनिन् –‘यदी कसैले सार्वजानी जग्गा अतिक्रमण गर्नु भएको छ, भने कंक्रिट घर नबनाउनु होला, पहिचान गरी हामी डोजरले भत्काउँने छौँ ।’

बजारको जग्गा प्रत्येक घरले २ धुर देखि ४ धुर सम्म अतिक्रमण गरेको थियो । जनता आधारभूत विद्यालयको १४ घरले लगभग १० कट्ठा जमिन अतिक्रमण गरी घर निर्माण गरी उपभोग गर्दै आएको छ । त्यसैगरी वयरवन बजारको जग्गा २३ घरले लगभग १२ कट्ठा जग्गा भोग गरी घरहरु निर्माण गरेका छन् । कति तिनुपर्ने दुई पक्ष छलफल पछि तिरो तिर्ने रकम निर्धारण गरिने वडाध्यक्ष धनबहादुर राईले बताए । तीरेको रकमले त्यही बजार र विद्यालयमा खर्च गरिने गाउँपालिका अध्यक्ष काफ्लेले बताए ।

बयरवन बजारमा तीन दशक अघि केही घरहरु निर्माण गरी बसोबास गरेका थिए भने केही पछिल्लो समयमा बस्ती बस्ने क्रममा एकले अर्कालाई कागजी रुपमा बेचविखन गरी घर निर्माण गर्ने क्रममा विद्यालय र बजारको जग्गा अतिक्रमण भएको थियो । उतिखेर गाविसकै पुरानो ‘बयरवन बजार’ अहिले पालिको नै ठुलो बजारको रुपमा मान्दै आएको छ । कार्यक्रम बयरवन वजार व्यवस्थापन समितिका अध्यक्ष मनोज राजवंशीले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *