आर्थिक सहयोग जुटाएर नगरमा विपन्न परिवारलाई घर निर्माण

जेठ १० गते, पथरी । मोरङको पथरी शनिश्चरे– २, स्थित लाटीझोडा कसेनी टोलका आर्थिक समस्यमा रहेको एक परिवारलाई स्थानीयले सहयोग जुटाएर घर बनाइदिने भएका छन् ।

स्थानीय चन्द्रबहादुर लिम्बूको बाँसको खम्वा र खरको छानो भएको घामपानी नछेक्ने घर भत्काएर नयाँ घर निर्माणका लागि वडा सदस्य पर्शुराम न्यौपानेको नेतृत्वमा पहल थालिएको हो ।

नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले घरको शिलान्यास गर्दै नगरमा भएका यसखाले विपन्नका लागि नगरले सहयोग पुर्याउने वताए । उनीले सो घरमा टिनको छानो लगाउनका लागि आफ्नो पहलमा नगरपालिकामार्फत १५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा समेत गरे ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष यामप्रसाद गुरागाईं, चौतारी सामुदायिक वन समिति अध्यक्ष मेघराज चापागाईं सहितले घर निर्माणमा सहयोग अभियान सञ्चालन गर्ने वताए ।

१५ धुर ऐलानी जग्गामा झुप्रे घर रहेका लिम्बूले ज्याला मजदुरी गरेर २ सन्तान र आफु रहेको ३ जनाको परिवार जेनतेन धान्दै आउनु भएको थियो । उहाँको दयनीय अवस्था देखेर कर्णध्वज लिम्बूको संयोजकत्वमा घर निर्माण समिति गठन गरी अभियान अघि बढाइएको छ ।

शिलान्यास कार्यक्रममै स्थानीय जितेन्द्र लिम्बूले सिमेन्ट १० बोरा, हर्कबहादुर लिम्बूले २ बोरा, प्रेमकुमार देवान २ बोरा तथा राजकुमार लिम्बू, शेरबहादुर लिम्बू, विजय लिम्बू, रुकमान लिम्बू र खडानन्द न्यौपानेले १,१ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । तेजबहादुर लिम्बू, खड्गप्रसाद भारती, रुद्र लिम्बू, गंगाप्रसाद गिरी, खड्गप्रसाद भारती, कालिबहादुर लिम्बूले ५,५ सय सहयोग प्रदान गरे ।

यसका साथै लालबहादुर सोडारी, शेरबहादुर लिम्बू सहितका मिस्त्रीले निःशुल्क श्रम खर्चिने हुनु भएको छ । चौतारी सामुदायिक वनले आवश्यक काठ निःशुल्क उपलब्ध गराएर उत्साह भरेको छ ।

आर्थिक समस्यामा रहनु भएका स्थानीय विजय लिम्बूको खरको छानो छाउनका लागि नगरपालिकामार्फत जस्तापाता उलब्ध गराइने पनि उपप्रमुख वास्तोलाद्धारा सोही कार्यक्रममा घोषणा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *