सि.एम. कन्दङ्वा कोषबाट जोशी ५० र कान्छा ३५ हजार नगदले सम्मानित

बैशाख २६ गते,पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे –१, मा स्थापीत एभरेष्ट बोर्डिङ स्कुलमा स्थापना भएको सी.एम. कन्दङ्वा कोषबाट वरिष्ठ लोक गायक एल.पी. जोशी र साहित्यकार धनकुटे कान्छा सम्मानित भएका छन् ।

विहिबार वरिष्ठ लोक गायक जोशीलाई विशिष्ट राष्ट्रिय प्रतिभा पुरस्कार ५० हजार,ताम्रपत्र र साहित्यकार धनकुटे कान्छा(शंकर चापागाई)लाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार ३५ हजार, ताम्रपत्रले सम्मान गरेको हो । सी.एम. कन्दङ्वा कोषका अध्यक्ष रविन कन्दङ्वा र कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम्मान प्रदान गरेका थिए ।

२०४३ सालमा पथरीशनिश्चरे नगरमा पहिलो संस्थागत विद्यालय एभरेष्ट माविको स्थापना गरेको सीएम कन्दंगवाको जन्मजयन्तीको सन्दर्भ पारेर वर्षेनी यस सम्मान कार्यक्रममालाई निरन्तरता दिने कोषको अध्यक्ष कन्दङ्वाले बताए ।

कार्यक्रममा सरस्वती बन्दना विद्यालय संगीत प्रतिक्षक अनिल फागो, सि.एम. कन्दङ्वाको व्यक्तित्व तथा कृतित्वबारे डा. रामनारायण कन्दङ्वाले प्रष्टाएका थिए । यस्तै सम्मान हुनेहरुको ताम्रपत्र वाचन कोषका सल्लाहकार सरोजा खड्गीले गरेकी थिइन् । सम्मानित दुवै सर्जक झापा दमकका हुन् ।

विशेषगरी प्रदेश नम्वर १ को भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, खेलकुद, पत्रकारिता, चिन्तन, समाजसेवा क्षेत्रका २ व्यक्तित्वलाई वर्षेनी पुरस्कार प्रदान गर्दै जाने लक्ष्य रहेको छ । वि.स. १९८५ चैत २९ गते भारतको दार्जि्लिङमा जन्मिएका कन्दङ्वाको ०६२ फागुन २५ गते पथरीशनिश्चरे नगरमा निधन भएको थियो ।

उनका ४ कृतिहरु प्रकाशित छन् । सो सम्मान कार्यक्रममा साहित्यकारहरु बद्री भिखारी, विवश बलिभद्र, मधु पोखरेल, सुमित्रा वाङ्देल चेली, तेजराज खतिवडा, मिन कुमार ‘नवोदित’ लगायतले आफ्नो रचना बाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *