साँस्कृतिक कार्यक्रम सहित तीन दिने येले सुरु

माघ १३ गते, पथरी । मोरङको पथरीशनिश्चरे–३, स्थित सुन्दरीचोकमा किराती समुदायको साँस्कृतिक पर्वका अवसरमा ३ दिने येले मेला सहितको साँस्कृतिक कार्यक्रम सुरु भएको छ ।

येले सम्वत ५०७९ का अवसरमा येले मेला व्यवस्थापन समितिको आयोजना भएको उद्घाटन् कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिपकुमार राईले सवै जातजातिको भाषा सँस्कृति प्रवद्र्धन हुनुपर्ने बताए । साथै उनले भाषा सँस्कृतिको प्रवद्र्धनमा नगरपालिका प्रतिवद्ध रहेर समिति निर्माण गर्दै गरेको जनाए ।

उनले सुन्दरीचौक र नगरलाई पीडा दिने वक्राहा नदीको दर्विलो तटवन्धका लागि एशियाली विकास बैंकको सहयोगमा योजना वन्दै गरेको जनाउँदै त्यसका लागि विराटनगरमा कार्यालय समेत खडा भइसकेको बताए । मिक्लाजुङको मधुमल्लादेखि दक्षिण भारतीय सिमानासम्मको ५१ किलोमिटर क्षेत्रमा वक्राहा नदीको दुवैतर्फ दर्विलो तटवन्धका लागि ३ अर्व ९४ करोड बजेट लाग्ने डीपीआर तयार भएको उल्लेख गरे ।

जसका लागि यो वर्ष ८ करोड रुपैयाँ छुट्टिएको जानकारी गराउनु भयो । वक्राहा तटवन्धका लागि राष्ट्पति चुरे कार्यक्रमले पनि १ करोड ७४ लाख विनियोजन गरेको थियो । रजतजयन्ती मार्गका रुपमा रहेको सडकमा यो वर्ष नगरपालिकाले १ करोड १५ लाख रुपैयाँ विनियोजन गरी काम सुरु गर्ने प्रक्रियामा पुगेको जनाउँदै दक्षिणी क्षेत्रको समस्या समाधानमा पनि नगरपालिकाले पहल गरिरहेको प्रष्ट्याए ।

सुन्दरीचोकबाट पूर्व उर्लावारी जोड्ने वक्राहा खोलामा झोलुङ्गे पुलको समेत पहल भइरहेको जनाए । सुकुम्वासी समस्या समाधानमा पनि संघलाई कानून वनाउन माग गरिरहेको र स्थानीय तहबाट पनि पहल भइरहेको उल्लेख गरे । कार्यक्रममा स्थानीयले सुकुम्वासी र वक्राहा खोलाको समस्याका बारेमा बोलेपछि नगरप्रमुख राईले नगरका तर्फबाट पहल भइरहेका गतिविधि जानकारी गराएका थिए ।

कार्यक्रममा, ३ नम्वर वडाध्यक्ष डम्वर चेम्जोङ, लिम्वुवानका बलिहाङ लिम्बू, खस समाजका सुरेन्द्र कार्की, समाजसेवी नरबहादुर राई सहितले येले सम्वतको शुभकामना व्यक्त गरेका थिए । येले मेलाको साँस्कृतिक कार्यक्रममा नगरका गायकहरु देव गुरुङ, नन्दु गुरुङ सहितको प्रस्तुति रहने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *