एभरेष्टको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस सुरु

माघ १० गते, विराटनगर । विराटनगर ५ स्थित एभरेष्ट बोर्डिङ स्कुलको रजत जयन्ती तथा २५ औं अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ शुरु भएको छ । दुईदिनसम्म चल्ने कार्यक्रमको पहिलो दिन प्राथमिक तहका बालबालिकाले विभिन्न साँस्कृतिक महत्व झल्कने सांगितिक कार्यक्रम सहित आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका छन् ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले गुणस्तरीय शिक्षा प्रदान गर्दै निजी विद्यालयले राज्यका लागि ठुलो सहयोग गरेको बताए । उनले पछिल्ला समयमा आइरहेका निजी विद्यालयको विस्थापनको विषयतर्फ संकेत गर्दै त्यसो हुन नसक्ने बताए ।

उनले शिक्षामा निजी क्षेत्रको लगानी ठूलो भएको उल्लेख गर्दै यसलाई तत्काल हटाउन नसक्ने बताए । उनले निजी क्षेत्रलाई निरुत्साहित पार्नु भन्दा सरकारी तथा सामुदायिक विद्यालयहरुको गुणस्तर बृद्धिमा ध्यान दिन आवश्यक रहेकोमा जोड दिए । उनले एभरेष्टले एकपछि अर्को गर्दै राज्यबाट उत्कृष्टताको पुरस्कार पाउनु सुखद रहेको भन्दै यसको गरिमा राख्दै सदैव उत्कृष्ट र व्यवहारिक शिक्षामा जोड दिन सुझाव दिए ।

विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले २५ वर्ष अघि ८० जना विद्यार्थीबाट शुरु भएको विद्यालयले प्राप्त गरेको सफलताको श्रेय अभिभावकलाई दिए । रजतजयन्ती मनाइरहँदा उनले बितेका संघर्षलाई स्मरण गर्दा उपस्थित अतिथि र अभिभावक भावुक भएका थिए ।

उनले शुरुका दिनमा जति संघर्ष गरेपनि एकपछि अर्को सफलताप्राप्त गर्दै जाँदा थप जिम्मेवारबन्न प्रेरित गरेको बताए । ‘हामीले विद्यालयबाट कमाएको पैसाले अन्य क्षेत्रमा नभई विद्यार्थी र विद्यालयकै क्षेत्रमा लगानी गर्दै आएका छौं,‘ उनले भने,‘हामी चाहन्छौं, एउटा इटा भएपनि विद्यालयकै लागि होस् ।’ यसकै कारण पनि अहिले महाविद्यालयको रुपमा एभरेष्टलाई विकास गर्ने योजनाका साथ आफूहरु लागिपरेको बताए ।

बालबालिकाले विभिन्न तहमा देश तथा प्रदेश उत्कृष्ट बन्दै देखाएको मेहनत, शिक्षक, कर्मचारीको मेहनत र अभिभावकको अटुट माया र विश्वासप्रति आफू प्रफुल्ल रहेको बताएका प्रिन्सिपल पुरीले यसलाई कायम राख्न निरन्तर लागिपर्ने बताए ।

विद्यालयका अध्यक्ष विनोद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवीहरु केशवसिंह सुवाल, अभिभावक संघ प्रदेश अध्यक्ष देवीपन्थीलगायतकाले एभरेष्टको उत्कृष्टताको प्रंशसा गर्दै यसलाई कायम राख्न शुभकामना दिए । करिब ५ सय बालबालिकाले मञ्चमा उभिएर प्रतिभा प्रस्तुत गरिरहँदा उनिहरुका अभिभावकहरु भने रोमाञ्चक बनिरहेका थिए । शुक्रबार पनि प्रदेश १ का सभामुख प्रदिप भण्डारीको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रमहरु हुने विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *