पथरीमा बुद्धिचाल खेलको कुम्भ मेला लगाउदै छौः अध्यक्ष अमिर राई

मोरङको पथरीशनिश्चरे नगरपालिकामा माघ ५ देखि ९ गतेसम्म राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुँदैछ । फ्रेण्डसीप चेस क्लवको आयोजनाहुने ‘सहिद रत्नकुमार वान्तावा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता—२०७५’मा बुद्धिचालको राष्ट्रिय च्याम्पियन लगायत देशभरबाट प्रतियोगिहरु सहभागि हुने आयोजकको भनाइ छ । यही राष्ट्रिय प्रतियोगिताको बिषयमा आयोजक फ्रेण्डसीप चेस क्लवका अध्यक्ष अमिर राईसँग गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत छ ।

अध्यक्ष :अमिर राई, फेण्डसीप चेस क्लव, पथरीशनिश्चरे—१, मोरङ

बुद्धिचाल प्रतियोगिताको तयारी कस्तो छ ?
तयारी अन्तिम अवस्थामा पुगेको छ । उद्घाटन १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले गर्नुहँुदैछ । खेलाडि तथा अतिथिहरुको लागि पथरी बजार लगायतका विभिन्न स्थानमा स्वागत गेट, तुल, व्यानर राख्ने काम भएको छ । प्रचारप्रशार लगायतको तयारी भइरहेको छ ।
खेलको मुख्य उदेश्य के हो ?
नयाँ खेलाडि उत्पादन, पुराना खेलाडिलाई सम्मान र यो खेल व्यवसायिक बन्दै गएको अवस्थामा बुद्धिचाल (चेस)को विकास गर्नु पर्छ भन्ने हो । राष्ट्रिय प्रतियोगिता गरेर १ नम्बर प्रदेश, मोरङ जिल्ला र विशेषत पथरीशनिशरे नगरपालिकाको प्रचारप्रशार र आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने उदेश्य रहेको छ । गाउँ टोलमा लुडो र क्यारम्बोर्ड खेलेर दिन विताउने युवा मित्रहरुलाई यो मान्यता प्राप्त बुद्धिचाल खेलप्रति आकर्षण होस भन्ने पनि हाम्रो चाहना हो ।
प्रतियोगितामा को को सहभागी हुन्छन् ?
प्रतियोगितामा वर्तमान नेपाल च्याम्प मदन कायस्थ, पूर्व नेपाल च्याम्पहरु बद्रीलाल नेपाली, नवीन तन्दुकार, भूपेन्द्र निरौला, सुरवीर लामा लगायतका खेलाडिहरु सहभागि हुनेछन् । यस बाहेक देशभरबाट करिव एक सय ५० जना भन्दा बढी खेलाडिहरु प्रतियोगितामा भिड्नेछन् ।
खेलको आर्थिक व्यवस्थापन कसरी गर्नुभयो ?
प्रतियोगिताको लागि पथरीशनिश्चरे नगरपालिकाको प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट लगायत वडा अध्यक्षहरुको विशेष सहयोग रेहेको छ । पथरी बजारमा स्थापित एभरेष्ट अंग्रेजी माविले मुख्य पुरस्कारको नगद राशी प्रायोजन गरेको छ । उर्लाबारी, बेलाबारी, लेटङ, रतुवामाइ नगरपालिका र कानेपाखरी गाउँपालिका लगायतबाट आर्थिक सहयोगको अपेक्षा गरेका छौ । त्यसैगरी स्थानीय सामुदायिक वनहरु, निजी विद्यालयहरु, व्यापारि, उधमि, समाजसेवी, बुद्धिजिवी लगायतबाट स्वेच्छिक सहयोगको अपेक्षा गरेका छौ ।
पुरस्कार राशी व्यवस्था कस्तो छ ?
खेल विजेतालाई नगर ५० हजार, त्यसैगरी दोस्रो, तेस्रो चौथोहुनेलाई क्रमश ४०, ३० र २० हजार देखि १५ जनालाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । विभिन्न विधा गरेर जम्मा ३९ जनालाई नगद पुरस्कारको व्यवस्था गरेका छौ । पुरस्कारको जम्मा राशी तीन लाख ४० हजार रहेको जानकारी गराउद छौ । यो प्रतियोगितामा ९ लाख बजेट लाग्ने अनुमान गरिएको छ ।
अन्तमा केही छ ?
हाम्रो समाजले बुद्धिचाललाई समय विताउने खेलको रुपमा हेरेको पाइन्छ । वास्तवमा बुद्धिचाल राष्ट्रिय मान्यता प्राप्त खेल हो । यो व्यवसायिक पनि हुन्छ भन्ने कुरा समाजले राम्ररी बुझ्न सकेको अवस्था छैन । त्यसैले मोरङ जिल्लाको पथरीशनिश्चरे नगरमा बुद्धिचाल खेलको एक प्रकारको कुम्भ मेला नै आयोजना गरेर यसको महत्वलाई बुझाउने प्रयासमा छौ । माघ ५ गते मुख्यमन्त्री शेरधन राईले खेलको उद्घाटन गर्दैहुनुहन्छ । उद्घाटन समारोहमा सहभागिहुन आयोजक समितिको तर्फबाट सबैमा हार्दिक अपिल गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *