पथरीशनिश्चरे नगरमा चार शिर्षकको कार्यक्रय तर्जुमा

भदौ १० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको नगरसभाले आर्थिक वर्ष ०७५÷७६ का पारित गरेको ४ वटा विषयमा विनियोजित नगरस्तरीय बजेटभित्रका विभिन्न शिर्षकमा योजना निर्माण गरी रकम फाँडफाँड गरिएको छ ।

 

नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले नगरस्तरीय योजनाका बारेमा त्यसप्रकारको निर्णय गरेको हो ।

 

शिक्षामा ८५ लाख, कृषिमा ८५ लाख, लक्षित समुदायमा ४५ लाख र पशुपंक्षीमा ३० लाख विनियोजित बजेट एवम् नीति तथा कार्यक्रममा रही त्यसभित्रका विभिन्न शिर्षकमा रकम बाँडफाँड गरिएको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।

 

शिक्षातर्फ, दरवन्दी नभएका विद्यालयलाई राहत सहयोग, बालविकास केन्द्रका शिक्षिका, विद्यालय कर्मचारीलाई तलवमा सहयोग थप गरिएको तथा केही विद्यालयहरुलाई भौतिक पूर्वाधारमा समेत सघाउने निर्णय भएको छ ।

 

कृषितर्फ, व्यवसायिक कृषिका लागि केही कृषि उपकरणलाई सहुलियतमा उपलब्ध गराउने, जैविक मल उत्पादन, अग्र्यानिक खेतीलाई प्राथमिकताका कार्यक्रमहरु तय भएका छन् ।

 

ढाका तान, महिला क्यान्सर उपचार, दुनाटपरी उत्पादन सहितका महिला लक्षितका साथै युवा, आदिवासी जनजाति, बालबालिका, अपाङ्गता, दलित र ज्येष्ठका लक्षित कार्यक्रम तय हुन पुगेको छ ।

 

पशुपंक्षीतर्फ, नश्ल सुधार, पशुहाट सुधार, पशुपंक्षी पालन, व्यवसायिक मासु पसल सहितका कार्यक्रमका लागि बजेट वाँढफाँड गरी योजना तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *