नगरपालिकामा अर्को डेभलपमेन्ट बैंक

साउन १३ गते, पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकामा अर्को डेभलपमेन्ट बैंक स्थापना भएको छ । पथरीशनिश्चरे नगरको पहलमा शनिश्चरे चोकमा सप्तकोशी डेभलपमेन्ट बैंकको शाखा स्थापना भएको हो ।

बैकका संस्थापक प्रमुख तारानाथ निरौला, कार्यकारी प्रमुख नविन सुवेदी सहित बैंकका कर्मचारीहरुले आइतबार नगरपालिका प्रमुख, वडाध्यक्षहरुसँग अन्तरक्रिया गर्दै साउन १७ गते शनिश्चरेमा १४ औं शाखा उद्घाटन् हुने जनाएका छन् । संस्थापक प्रमुख निरौलाले नगरपालिका कार्यालयलाई धन्यवाद ज्ञापन गर्दै ग्रामिण क्षेत्रको विकासमा आफुहरु डटेर लाग्ने जनाए ।

 

नगर प्रमुख दिलीपकुमार राईले पथरी बजार बाहेकका लागि नगरको सो बैंक पहिलो शाखा भएकाले ग्रामिण क्षेत्रको विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । नगरपालिकाको पहलमा नगरको ग्रामिण क्षेत्रमा सामाजिक सुरक्षा भत्ता, कृषि कारोबार सहितका विकासका गतिविधिमा सघाउन बैंकको शाखा माग भएको प्रष्ट्याए । नगरपालिका कार्यालयबाट वर्षको ८ करोड हाराहारीमा सो बैंकमा कारोबार हुने उनले अनुमान पेश गरे ।

 

विराटनगरमा मुख्य कार्यालय रहेको बैंकले मोरङ, इलाम र पाँचथरमा गरी १४ वटा शाखा सञ्चालन गरेको र अव झापा र सुनसरीमा पनि शाखा खोल्ने तयारी भइरहेको कार्यकारी प्रमुख सुबेदीले जनाए । संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत गरी ५१ करोड शेयर पूँजीमा बैंक खडा भएको उनले उल्लेख गरेका छन् ।

 

पथरी बजार क्षेत्रमा बाहेक नगरका अन्य कुनै ठाउँमा पनि बैंक नभएको अवस्थामा यसअघि कुशल बजारमा शाखा रहित ग्लोबल आइएमइ बैंकको कारोबार सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *