विराटनगरको जुटमिलमा तालाबन्दी

विराटनगर / बन्द अबस्थामा रहेको बिराटनगर रानी स्थित जुटमिलको प्रशासन कार्यालयमा निष्कासन भएका कर्मचारीहरुले तालाबन्दी गरेका छन् ।

जुटमिलमा कार्यरत १० जना कर्मचारीलाई मात्र अबैध रुपमा कामबाट बर्खास्त गरेको भन्दै उनीहरुले जुटमिलको प्रशासनिक कार्यालयमा तालाबन्दी गरेका हुन् ।

बन्द अबस्थामा रहेको बिराटनगर रानी स्थित जुटमिलमा २४ जना कर्मचारीहरु करारमा कार्यरत थिए । तर १ साउनदेखि मिलका अध्यक्ष बसन्त बनले १० जनालाई करार सकिएको ले निष्कासन गरिएको जानकारी दिएका छन् । तर, निष्कासनमा परेका १० जना कर्मचारीहरुले भने मिलका अध्यक्ष बननै अबैध भएको र संचालक समितिको निर्णय बिनै आफुहरुलाई गैरकानुनी तरिकाले निष्कासन गरेकोले मान्य नहुने बताउँछन् ।

अध्यक्ष बनले पत्र पठाएर कर्मचारीहरु मनोज खडका, दिननाथ सिँह , राकेश कर्ण , बिपिन कोइराला, अवधेश सिँह, जितेन्द्र मण्डल, शुक्रराज लिम्बु, रमा ज्ञवाली लगायत १० जनालाई १ साउनदेखी निष्कासन गरिएको जानकारी गराएको जुटमिलका प्रशासन प्रमुख तारानाथ तिम्सिनाले जानकारी गराए ।

जुटमिलमा कार्यरत २४ जना कर्मचारीमध्ये १० जनाको काम नदेखिएको कारण विदा गर्नुपरेको जुटमिल प्रशासनको दाबी छ । यता जुटमिलका संचालक समितिका अध्यक्ष वनले भने खातामा रकम नभएको कारण तलब खुवाउन नसकिएको बताए । वनले बन्द रहेको जुटमिलमा विभिन्न नाममा कर्मचारीको आवश्यकता नहुने भएको कारण करार अवधि सकिएपछि कामबाट हटाएको बताए ।

साभारःखबर पूर्वाञ्चल

Leave a Reply

Your email address will not be published. Required fields are marked *