धिमाल समुदायबाट नगरपालिकालाई कृतज्ञतापत्र

साउन ४ गते , पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरको पहिलो जातिका रुपमा धिमाल जाति पहिचान भएकोमा खुसी व्यक्त गर्दै धिमाल जातीय विकास केन्द्रको केन्द्रीय समिति उर्लावारीले नगरपालिका कार्यालयलाई कृतज्ञतापत्र प्रदान गरेको छ ।

केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल, महासचिव केदार धिमाल सहितले २ दर्जन बढी धिमाल अगुवाहरुको उपस्थितीमाझ नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोलामार्फत नगरपालिका कार्यालयलाई आज कृतज्ञतापत्र प्रदान गर्नुभएको हो ।

कृतज्ञतापत्र ग्रहणपछि बोल्दै नगर प्रमुख राईले धिमाल समुदायको आवादले वस्ती बसेको र आफुहरु जनप्रतिनिधि हुन पाएको भन्दै धिमाल समुदायप्रति आभार प्रकट गर्नुभएको छ । साथै उहाँले धिमाल समुदायको प्रवद्र्धनका लागि नगरपालिकाले कार्यक्रम अघि बढाउने वचन समेत दिनुभएको छ ।

नगरपालिकाको गत असार २९ गतेको तेस्रो नगरसभाको विस्तारित वैठकले धिमाल जातिलाई नगरको पहिलो जातिका रुपमा घोषणा गरेको थियो । सो नगरपालिकामा धिमाल समुदायका ४ जना प्रतिनिधि रहेका छन् ।

धिमाल जातिलाई नगरको पहिलो जाति मानेकोमा खुसी व्यक्त गर्दै धिमाल जातीय विकास केन्द्र पथरीशनिश्चरे नगर समितिले साउन ६ गते नगरमा र्याली निकालेर साँझ दिपावली गर्ने कार्यक्रम समेत राखेको छ ।

धिमाल जाति मोरङ र झापामा बसोवास गर्ने पुरानो जातिमा पर्छ । दमक नगरपालिकाले ०७४ मा पहिलो नगरसभाबाट प्रथम नागरिकका रुपमा धिमाल जातिलाई घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *