वडा कार्यालय राख्नका लागि कार्यालयलाई जग्गा दिनेको घुँइचो

फागुन २६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिको ७ नम्बर वडा कार्यालयका लागि एउटा संस्था र अन्य ७ जना व्यक्तिले लाखौंको जग्गा दान गर्ने इच्छा देखाएका छन् ।

कार्यालय निर्माणका लागि वडा कार्यालयबाट निशुल्क जग्गा मागको सूचना जारी भएपछि आफ्नो नजिक कार्यालय राख्न जग्गा दिनेको तँछाड मछाड देखिएको छ ।

फुङ्नाम चोकका गोविन्द नेम्वाङले ५ कठ्ठा, गंगामाया सुनुवारले साढे ४ कठ्ठा, लामाटोलका वीरबहादुर घिमिरेले साढे ४ कठ्ठा, स्वामी चोकका मानबहादुर वस्नेतले ४ कठ्ठा, संगालो वस्तीका दिलकुमार मुखिया सहितले २ कठ्ठा १७ धुर, मायालु चोकका शेरबहादुर राईले २ कठ्ठा जग्गा दिने भएको हो ।

त्यसैगरी, किर्तिपुर वजार व्यवस्थापन समितिको किर्तिपुर हाट लागेको क्षेत्रको १५ कठ्ठा मध्ये आवश्यकता अनुसार जग्गा दिने समितिले उल्लेख गरेको छ । उत्तमचोकका तीर्थबहादुर विकले आफ्नो १० कठ्ठा जग्गामध्ये आवश्यकता अनुसार दिने वताएका छन् ।

वडावासीका लागि भौगोलिक सुगमता, सञ्चार सहितका कार्यालय व्यवस्थापनमा सहजतालाई ध्यानमा राखेर तीमध्ये एक ठाउँको जग्गा चुन्नका लागि जग्गाको स्थलगत अवलोकनको काम भएको छ । वडा कार्यालयका लागि कम्तिमा साढे ४ कठ्ठा जग्गा आवश्यक पर्ने भएकाले सो मापदण्डलाई समेत आधार बनाइने भएको छ ।

नगर प्रमुख दीलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडाध्यक्ष कपिलमणि ढकाल, वडा सदस्य सहित स्थानीयले सवै जग्गा अवलोकन गरेका छन् । उपयुक्त जग्गा छान्नका लागि केही दिनमा निर्णय गरिने वडाध्यक्ष ढकालले बताए । जग्गा उपलब्ध भएपछि सरकारले भवन निर्माणका लागि वजेट प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *