मर्नु अगाडि मान्छे केमा पछुतो मान्दा रैछन्?

हामी अजर, अमर छैनौँ। हामी सबैलाई थाहा छ- एक दिन मर्नै पर्छ। तर यो सत्यलाई बिर्सन्छौँ र नमरेसम्म एकोहोरो दौडेको दौडेकै गर्छौँ। मृत्यु कसले देखेको छ र, हामी अहिले नै मृत्युको नजिक नहौँला। तर मृत्यु नजिकिएपछि, मृत्यु निश्चित भएपछि मानिसहरु के सोच्दा रहेछन् त? बोन्नी वेयरले धेरै वर्ष त्यसरी मृत्यु नजिक भएकाहरुको हेरविचार गर्ने काम गरिन्। उनले हेरविचार गरेकाहरुको तीनदेखि १२ हप्तासम्ममा मृत्यु हुन्थ्यो। त्यस्ता मृत्युशैय्यामा रहेका मानिसहरु नजिक रहेर काम गरेकी उनले धेरैलाई तपाईँलाई जीवनमा के कुरामा पछुतो छ त भनेर सोधेकी रहिछिन्। उनीहरुको जवाफमध्ये यी पाँच विषय धेरैले दोहोर्‍याएका रहेछन्- 

1. I wish I’d had the courage to live a life true to myself, not the life others expected of me.
यो धेरैले महसूस गर्ने विषय रहेछ। मृत्युअगाडि मानिसहरुले आफ्नो इच्छा, सपनाहरुलाई फर्केर हेर्दा रहेछन्। अनि कति पूरा भयो कति भएन मूल्याङ्कन गर्न थाल्दा रहेछन्। धेरैले त आधा सपना पनि पूरा भएको नपाउँदा रहेछन्। कारण ? आफैले गरेका वा नगरेका निर्णय। स्वास्थ्य ठीक हुँदासम्म त के वास्ता र! जब स्वास्थ्य बिग्रन थाल्छ, तब धेरै ढिला भइसकेको हुन्छ।

यो बिन्दूमा आएर मैले फर्केर हेर्ने हो भने म पनि यही अनुभव गर्छु। मैले मेरो लागि यो जीवन जिएको छैन। मेरा पनि धेरै इच्छा, आकांक्षाहरु पछि पूरा गरौँला नि भनेर थाती राख्ने गरेको छु।

2. I wish I didn’t work so hard.
बोन्नीले हेरविचार गरेका प्रत्येक पुरुष बिरामीले यस्तो भन्दा रहेछन्। उनीहरुले आफ्ना बच्चाहरुको हुर्काइ बढाइ र आफ्नी पत्‍नीसँग बिताउने समयलाई मिस गर्दा रहेछन्। कति महिला बिरामीहरुले पनि यसो भन्दै पछुतो मान्दा रहेछन्। तर धेरै महिला पुरानो पुस्ताको भएकोले उनीहरु अहिलेको पुस्ताको जस्तो कमाउन काम गर्नुपर्ने थिएनन्। तर सबै पुरुषले भने मर्नुअघि यति धेरै काममा व्यस्त भएकोमा पछुतो मान्दा रहेछन्।

अहो, म पनि त्यस्तै त छु। ब्लग र जागिर भन्दै व्यस्त भएर मैले पनि आफ्नो परिवारलाई कहाँ समय दिएको छु र! यति व्यस्त भएर मैले पाउन खोजेको चाहिँ के? अब उनीहरु जस्तै मर्नुअगाडि पछुतो मान्ने ?

3. I wish I’d had the courage to express my feelings.
धेरै मानिस विवाद किन गर्ने भनेर आफ्नो भावनालाई दबाउने गर्छन्। परिणामस्वरुप सम्झौताको जीवन बाँच्छन्, कतिलाई त त्यही कारणले रोग लाग्छ। हामी अरुको प्रतिक्रियालाई नियन्त्रण गर्न सक्दैनौँ। इमान्दारीपूर्वक कुरा राख्दा सुरुमा मानिसहरुले फरक किसिमले व्यवहार गरे पनि पछि सम्बन्ध नयाँ र स्वस्थ उचाइमा पुग्छ। अथवा त्यो अस्वस्थ सम्बन्धबाट मुक्ति मिल्छ। जुनै कुरा भए पनि जित तपाईँ कै हुन्छ।

यो कुरामा चाहिँ मृत्युअघि म पछुतो मान्दिनँ होला। यो समस्या मैले भोग्नु परेको छैन।

4. I wish I had stayed in touch with my friends.
धेरैले मर्नु केही हप्ताअघिसम्म आफ्ना पुराना साथीहरुको महत्त्व थाहा पाउँदा रहेनछन्। धेरै आफ्नो दैनिक जीवनमा यति व्यस्त हुँदा रहेछन् कि पुरानो मित्रताको लागि केही समय नै बाँकी नहुने रहेछ। साथीहरुलाई महत्त्व नदिएकोमा मर्नुअघि धेरैले पछुतो मान्दा रहेछन्।

अहो, यस्तो पछुतो त म पनि गर्छु होला। साथीहरुका लागि म पनि कहाँ समय निकाल्छु र!

5. I wish that I had let myself be happier.
मृत्युशैय्यामा पुगेपछि अरुले के सोच्दा रहेछन् भन्ने मनमा नहुने रहेछ। अनि मैले आफूलाई धेरै खुशी र सुखी बनाउन सक्थेँ भन्ने महसूस गर्दा रहेछन्। आफ्नो खुशी नै मुख्य छनौट हुनुपर्छ भन्ने सत्य मर्नुअघिसम्म धेरैलाई थाहा नहुने रहेछ।

हो त, मेरो पनि स्थिति त्यही हुने हो कि।

यो उनीहरुका लागि पछुतोको कुरा थियो तर हाम्रो लागि राम्रो पाठ हुनसक्छ। सकेसम्म मर्नुअगाडि केही कुरामा पछुतो मान्न नपरोस्, अब म त्यसतर्फ ध्यान दिने प्रयास गर्नेछु। तपाईँलाई माथिका पाँच मध्ये कुन-कुन अवस्था आफूसँग मिल्ने लाग्यो ? कति राजनीतिक कुरा मात्रै गर्ने, आउनुस् आज आफ्नै विषयमा पनि केही कुरा गरौँ।

[ब्रोन्नीले यही अनुभवमा आधारित The Top Five Regrets of the Dying – A Life Transformed by the Dearly Departing नामको पुस्तक लेखेकी छिन्। मैले किताब पढेको छैन। माथिको ब्लग उनको ब्लगमा राखिएको अनुभवबाट साभार गरिएको हो]

Leave a Reply

Your email address will not be published. Required fields are marked *