मानसिक सन्तुलन गुमाएका खातीलाई नेपाल पठाइयो ।

युएई,
संयुक्त अरब इमिरेटस (युएई) को रस अल खैमहमा मानसिक रुपमा बिच्छिप्त भई अलपत्र परेका डोटी केलनाका शेरबहादुर खातीलाई अबुधाबी स्थित नेपाली दुताबासले उद्दार गरी नेपाल पठाएको छ ।

खातीलाई गत मार्च १७ तारिकका दिन नेपाल एअरलाइन्सको उडान मार्फत नेपाल पठाइएको नेपाली दुताबास अबुधाबीकी श्रम सहचारी हीरा यादवले बताईन् । खातीलाई युएईको रस अल खैमह स्थित सैफ अस्पतालको ‘साइकियाट्रिक वार्ड’मा उपचारको लागि भर्ना गरेको थियो । दुबईस्थित एक क्लिनिङ कम्पनीमा काम गर्ने उनी गत जनवरी २ तारिक देखि कम्पनीबाट सम्पर्क विहिन भएका थिए । बेपत्ता भएको केही हप्ता पछी उनलाई अजमानमा रहेको खालिफा अस्पतालबाट रस अल खैमह स्थित सैफ अस्पतालमा सरुवा गरिएको थियो । उनलाई बेवारीसे अवस्थामा अस्पताल ल्याईएका अस्पतालले जनाएको छ ।

अस्पतालले नै खोजी गरी काम गर्ने कम्पनी पत्ता लागेको हो । कम्पनीले भने खाती अस्पतालमा उपचार गरिरहेको थाहा पाए पश्चात उनलाई प्रहरीमा भागौडा भनेर रिपोर्ट गरेको अस्पताल श्रोतले बताएको थियो । उनको टाउकोमा र हात खुट्टामा चोट लागेका दागहरु छन । अस्पतालका अनुसार चोटका कारण खातीको “ब्रेन हेमरेज“ भएको थियो । उनलाई लामो समय सम्म पारिवारिक वातावरणमा उपचार गर्नु पर्ने अस्पतालले जनाएको छ ।

खातीको उद्दारको क्रममा लागेको खर्च,  टिकट सहित अन्य आवश्यक खर्च एनआरएनए क्षेत्रिय समिती रस अल खैमहले व्यहोेर्ने रस अल खैमह क्षेत्रका अध्यक्ष राजेन्द्र रोस्याराले जानकारी गराएका छन । यस् अघी एनआरएनए रस अल खैमहका अध्यक्ष रोस्याराले खातीको उद्दारको लागि बिशेष पहल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *