माओवादी आन्दोलन : भ्रम र वास्तविकता

कमरेड काका

img-20161208-wa0000
नेपालमा एकात्मक शासन व्यवस्थाको अन्त्यको लागि समय समयमा कम्युनिष्ट आन्दोलन भएको व्यहोरा सर्वविदितै छ । चाहे त्यो पुष्पलालले खोल्नुभएको कम्युनिष्ट पार्टी होस् या प्रचण्डको नेतृत्वमा खोलिएको नेकपा माओवादी नै किन नहोस्, यिनिहरुले तत्कालिन समयको निरंकुश शासन पद्घतीको अन्त्यको लागि खेलेको भूमिका महत्वपूर्ण रहेको छ । तर, अहिले नेपाली समाजमा जुन किसिमले एउटा भ्रमको खेती गरेर समग्र कम्युनिष्ट आन्दोलनलाई अपमानित गर्ने काम भईरहेको छ, त्यो आफैमा एउटा निर्लज्ज कदम हो भन्ने पंक्तिकारको ठम्याई छ ।
मूलत नेपाली समाजमा व्याप्त अन्याय, जातीय विभेद, लैँगिक असमानता लगायत पहिचानको मुद्घालाई प्रचण्ड नेतृत्वको माओवादी आन्दोलनले स्थापित गरेकै हो । यसबाहेक वर्षौबाट नेपाली समाजलाई पेलीरहेको निरंकुश राजतन्त्रको जरा उखेल्न पनि माओवादी आन्दोलनले सार्थक भूमिका खेलेको थियो । दुखको कुरा आजभोली कम्युनिष्टको खोल ओढेका केहि ब्वाँसाहरु माओवादीले १७००० मा्न्छे मार्यो, यिनीहरु आतंककारी हुन्, बस् यहि प्रमाणित गर्न लागिपरेका छन् । उनिहरुलाई सायद अवगत होला राज्यबाट भएको चरम शोषणको प्रतिकारमा माओवादीहरुले हतियार उठाएका थिए । जनयुद्घमा १३००० जनता राज्यपक्षबाटै मारिएका छन् । अर्को कुरा हामीलाई आतंककारी देख्नेहरुले स्वयं कुनै संघर्षको दौरान मानिसहरुको टाउको गिँडेको ईतिहासमा छर्लङ्ग छ । के उनिहरुले मार्दा राष्ट्रहित हुने र जनताको आवाज उठाउने क्रममा प्रतिकार गर्दा भएको घटना राष्ट्रघात हुने हुन्छ र ? हामीले उठाईदिएको मुद्घामा टेकेर, त्यहि जनयुद्घको बलमा प्रधानमन्त्री समेत बनेर यो महान जनयुद्घलाई कम आंकलन गर्ने कुबुद्घी स्वयंको हो कि प्रायोजित ?
अहिले बजार चलेको अर्को हल्ला छ, राष्ट्रवादी को ? के दौरा सुरुवाल लाउनेहरु सबै राष्ट्रवादी हुन् ? दौरा सुरुवाल लाएर राजाको पाउमा दाम चढाउने ति तमाम कम्युनिष्टलाई के भन्ने ? राष्ट्रवादी ? दौरा सुरुवाल लाएर देशको नदीनाला बेच्ने राष्ट्रवादी हुन् त ? जब सुस्ता मिचिन्छ, देशको सिमास्तम्भ लुटिन्छ, त्यस्ता राष्ट्रवादीको जत्था कतै सक्रिय भएको सुन्नुभाछ ? शक्तिको विकेन्द्रीकरणको लागि जुन यत्रो संघर्ष भयो, त्यसलाई कुल्चेर संघियताको गलत व्याख्या गर्ने र सोझा जनतालाई यसले देश टुक्रिन्छ भनेर हौवा पिट्ने के तिनहिरुलाई अधिकार छ ? र, यस्तै तत्वहरुले नेपाली मिडियामा पनि एकाधिकार जमाएको छ । फलस्वरुप सरकारले गरेका जनपक्षिय कामहरुको चर्चाको बदला प्रधानमन्त्रीको पहिरन र अनेक तर्कहिन समाचार प्रस्तुत गर्नु यिनीहरुको दिनचर्या बनेको छ । सरकारले साझा बस थप्यो, खोई कहाँ गयो मिडिया ? लोडसेडिङ बन्द गरायो, खोई समाचार छापेको ? भूकम्प पिडीतलाई पूर्ववर्ती सरकारले भन्दा छिटो रकम निकासा गर्यो, खोई यसको चर्चा ? यहाँ चर्चा हुन्छ त बस् उखानको, टुक्काको र भ्रमका किंवदन्तीहरुको ।
सरकारले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनायो–भ्रम । २५ बुँदे राष्ट्रघात भयो–त्यो पनि भ्रम । अँगिकृतलाई सरकार प्रमुख बनाउने रे– यो पनि भ्रम । यस्ता भ्रमका कथा कुथुुङ्ग्री बनाउन खप्पिस नक्कली कमरेडहरु भ्रममा जनता उल्झाएर धमिलो पानीमा माछा मार्ने दाउमा छन् । भारतलाई सरापेर बोक्रे राष्ट्रवाद देखाउने ति तमाम लाल गद्घारहरुलाई प्रश्न छ– प्रचण्डले पशूपतिनाथमा भारतिय पुजारी हटाउँदा किन भारतिय राजदुतको पाउ मोल्यौ ?आफ्ना बडाउहरुले बेचेको नदीनालाको हिसाब किन माग्न सकेनौ ? र, उत्पिडीत समुदायको लागि र वास्तविक सिमा जहाँ मिचिएको छ, त्यहाँ किन आन्दोलन गर्न जान सकेनौ ? जसरी मधेसी दाजुभाईले भारतियलाई लखेटेर पठाएका थिए ।
अत : बुझ्नुपर्ने कुरा के हो भने होटलको महङ्गो ह्विस्कीमा बिकेका मुठ्ठीभर प्रतिगामी र प्रतिक्रान्तिकारीहरुद्घारा रचित यो भ्रमको चक्रव्युह तोड्न हामी माओवादीहरु जनस्तरमा जानु पर्ने देख्रिन्छ । संघियता र समावेशिताको बारेमा सरल भाषामा बुझाउनुपर्ने देखिन्छ । अप्ठ्याराहरुलाई चिर्न कहिँ कठोर बन्नुपर्छ त कहिँ मैन जस्तो आफूलाई बालेर उज्यालो पनि छर्नुपर्छ । हामी हाम्रो गन्तव्यमा अगाडी बढी नै राखौँ, काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ । हामीलाई चुनाव हारोस्, नहारोस् त्यसले फरक पार्दैन । बस् हामीले उठाएका उत्पिडनमा परेका जनसमुदायको मुद्घा सम्बोधन हुनु पर्छ र सफल कार्यान्वयन हुनुपर्छ । तर, यि भ्रमका मालिक र तामेली गर्ने नोकरहरुको जमात देख्दा एउटा उखान सम्झिन्छु–लबस्तराको कुनै औषधि हुँदैन ! लालसलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *