प्रवाशको दशैँ

राम न्यौपाने
यो दशैँमा घर जाने मेरो उत्कट इच्छा र रहरको हत्या गरिदियो मालिकले । छुट्टी रोक्दियो । मौसम तातो छ, तर मालिकहरु चिसा छन् । समात्दा चिप्लो र उचाल्दा गह्रौ छ, यहाँको श्रम कानुन । एउटै घाम उदाउछ यहाँ पनि । तर, चिलाउने डाँडाबाट फुत्त माथि उक्लिने घाम र यहाँको घाम नितान्त फरक छ । यहाँ घामसँग आगो पोखिन्छ । र, घाम बैंशालु हुनै नपाई बिहानैबाट चसक्क पोल्न थाल्छ । घामले मात्र हैन, कामले पोल्छ । जमीन मात्र हैन, शरीर पोल्छ । मन पोल्छ । मस्तिष्क पोल्छ । यो तापले जिन्दगी डढाउँदै छ । म नियमित सेकिँदैछु । यसरी सेकिनुपूर्व मेरो जीन्दगी अभावहरुले थिल्थिलो भइसकेको थियो । कतै मिलिरहेको थिएन । मर्मत गर्ने ध्याउन्नमा या बिग्रिएको जिन्दगी बोकेर भौँतारिएको ३० महिना पूरा भयो । अझै बन्दैन, बन्छ कि भन्ने आशमा मेरो जीवन एउटा ‘वस्तुमा’ रुपान्तरित बनिसकेको छ । म जिन्दगी बनाउन हिँडेपछि भूकम्पले घर ध्वस्त बनायो । घरसँगै मेरो ठेगाना पनि । भग्नावशेषमा पित्तलको अम्खरा खोज्दै गरेका बा आमाको फोटो मेरो वालपेपरमा हल्लिरहन्न्छ । तेही ठेगानामा रुमल्लिएको मेरो बालापनको स्मृतिले फनफनी घुमाइरहन्छ मलाई ।

आफ्नो ओछ्यानमा साङ्लो दौडँदा बिउँझिएर सुत्नै सक्दैनथेँ । छिसिक्क आवाज कानमा पर्रुयो भने छ्याङ्ग भैहाल्ने बानी थियो । छेउछाउमा कोही सुतेर गाढा स्वास लिँदा पनि ‘डिस्टर्ब’ हुने । झन घुर्ने कोही परे भने म रातभर शिवजीका नाममा जाग्राम । एकदम अल्टर थिएँ । यो बानीबाट आजित भएर बहुत रिसाउथेँ आफैसँग । ओछ्याननेरको भित्तो चिथोरेर वा मुड्किले हानेर अर्कै आकृतिमा ढालिदिएको कयौँ उदाहरण छन । चिलाउने डाँडाबाट दशमान्छे जति माथि घाम पुग्दा फुल्पिङकोट पुरै झलमल्ल भएर रातभरि जम्मा भएका शीतहरु ओभानो बनिसक्थे । आमाले घरधन्दा सकेर एक भारी घाँस गोठमा फालेको सुनेसी झन, सिरकले आफुलाई बेरेर लुक्दा कल्लेरी गाँउ सुनसान भएझै गरी म निदाइदिन्थेँ । आमा कान्छा ! उठ् भन्नुहुन्थ्यो । उठ् ढिलो भैसक्यो भन्दा लोरी सुनेझैँ लोलाउथेँ, झन निदले च्याप्थ्यो । बिहानीको त्यो मिठास नीदमा ओड्ने छोड्न तीन भारी स्याउला एकै खेप बोकेको भन्दा गह्रौँ हुन्थ्यो मलाई । बाआमाले मलाई अभाव कहिल्यै देखाउनुभएन । लुकाउनुभो । सन्तानलाई राम्रो मात्र देखाएर पीडा लुकाउन कहाँबाट सिके बाआमाले मैले बुझिँन उनताका । खेतीबाट ६ महिनालाई पनि पुग्ने अन्न उब्जन्नथ्यो । खेती गर्दा आमाको नंग्र्रासँगै जिन्दगी खिएको छ । पैताला फुटेर कयौं रेसाहरुका खाल्डा बनेका छन् । ऐले बुझ्दैछु, दुखका प्रमाणपत्रहरु यिनै फुटेका पैताला र अर्धबैंशमै चाउरिएका गाला रहेछन् ।

हरेक वर्षजसो बा ज्यामी काम गर्न शहर जानुहुन्थ्यो । र्फकदाँ बासँगै मिठाई फर्किन्थ्यो मेरा लागि । केही थान कपडा पनि फर्किन्थ्यो । घरका लागि चामल र दाल पनि । तर, बासँगै गएको च्यातिएको स्टकोट नयाँ भएर फर्किएको कहिल्यै पनि देखिनँ मैले । आमाको नयाँ चोलो र फरियाको आश पनि अर्काे चोटिको आश बनेरै फर्किन्थ्यो । यसरी हर दशैँमा बिँडी खाँदा आगोलकोंडा फिलिङ्गो उछिट्टएिर प्वाल परेको आमाको फरिया सधंै धोएपछि नयाँ भैरहृयो । सनपाटले चुटेर पखालेपछि बाको ज्यानमा त्यै स्टकोट चम्रिहृयो । चाडबाड र आफन्त आउँदा बाहेक मीठो मसिनो तुल्याउन हम्मे थियो । मौसम अनुसारको तिहुन तयार हुन्थे । बर्खामा तामा, हिउँदमा गुन्द्रक । नत्र मोहीको सोल्लर । कयौँ पटक काँक्राको चिरा टोकेर ढिँडो निलिन्थ्यो । हुन त यी परिकारवाला खाना कहिल्यै मन परेन मलाई । जब घरमा काम गर्नुपर्ने हुन्थ्यो, तब मेरो एउटै सार्वभौम तरिका थियो । म किताब बोकेर घोत्लिन्थेँ । कपीमा ‘सायरी’ लेख्न थाल्थेँ । उसै केर्दा अचम्मका चत्र बन्थ्यो । कल्पना भन्दा धेरै परको बिम्ब उत्रन्थ्यो । अक्षर त आखाँमा बिझाउथे । मन अन्तै उड्थ्यो । जे जे गर्थेँ ती सबै पढन्तेको नाटक रचना हुन्थ्यो । चोर आँखा फाल्दा, काम अह्राउन आएका बा–आमा रित्तै फर्किसकेका हुन्थे । मैले यसरी आफुलाई जिताएकोमा अट्टहास मुस्कान छोडेँ उ बेला । मुठ्ठी कसेर माथि उचाल्दै ‘यस’ हुंकार गरेँ । समय बदलियो । समयसँगै मेरो ‘म’ पनि बदलिएको छ । जिन्दगी घडीको सुई रहेछ । म बाल्य र किशोर कालमा घुम्दा यै रेखामा घुमिदिन्थेँ । त्यसरी समय मसँग घुम्थ्यो जस्तो लाग्थ्यो । तर, अहिले जिन्दगीको घडीमा अर्कै सुई भएको छु म । आफ्नु तरिकाले घुम्न सक्दिँन । मलाई अरुले घुमाउँछन् । अरुको समय चक्रमा घुम्दै छु । जति बजाउँछन् उति बजिदिन पर्छ मैले । यसर्थ कि यो घडी उसले खरिद गरेको छ । यसको हरेक सुईहरुमा उसको स्वामित्व सुरक्षित छ । ‘दम’ उसैको नियन्त्रणमा छ । मनलाग्दी बटार्छ । मनलाग्दी बजाउँछ । म यसरी चुपचाप बजिरहेको छु ।

टियुमा भर्खर भर्ना भएको एउटा बिद्यार्थी । काठमान्डौंले एक किसिमको वितृष्णा मन मस्तिष्कमा हुँडलिरहेको थियो ।अव्यवस्थाको चरम उदाहरण थियो काठमान्डौ । देशको मात्र हैन, भ्रष्टाचार, बेथिती, स्वार्थ र अझ फोहोरहरुको पनि काठमाण्डौ राजधानी हो । म यी ‘बहुमुखी बिम्बहरुको’ राजधानीमा थिएँ । एउटै उद्देश्य थियो ‘टियुको डिग्री सर्टि्फिकेट’ आफ्नो नाममा लेखाउनु । तर, भर्ना भएपछि एक दिन पनि क्लास लिन परेन मलाई । कारण, एउटा साथी थियो, भर्खर खाडीबाट’ नेपाल आएको । एकदिन उसले चिया गफमा तीतो व्यंग्य पेल्यो मलाई । नेपालमा बसेर पढ्नेले सर्टि्फिकेट आफ्नो नाममा पार्छन अरब जानेले शहरमा जग्गाको लालपूर्जा । उसले तँ सर्टिफिकेट रोजेर गलत गर्दैछस् भन्ने ‘निचोड’ निकाल्यो । यो भन्नुको पछाडि, अरब भासिएको दुई बर्षमा उसले भर्खरैको छुट्टीमा नेपाल आउँदा काठमाडांैमा ‘घडेरी’ किनेर देखाएको प्रगति थियो । यैबेला मेरो मस्तिष्कमा, पढेर पनि जागिर नपाई छटपटिएका म जस्तै बेरोजगार युवाहरुको बिम्ब अनेकौँ ढाँचामा नाच्दै थिए । त्यस रात उसका कुरालो म निदाउन सकिनँ । उसका शब्दहरु कानबाट छिरेर सिधै मनलाई क्षतबिक्षत बनाउँदै थिए । यो पीडाले दुख्दा मभित्रको ‘अहम’ जाग्यो ।

एक किसिमको ‘रहर’ रोपिदियो उसले । रहर मात्र रोपेन, पानी सिँचेर गयो । एकै रातमा रहर फूल्ने गरी गोडेर गएछ उ त हलक्कै बढ्ने गरी । उसको नाडीमा टल्की रहेको ब्रान्डेड घडी, आइफोन फाइभ मोडलको मोबाइल । र, रेवनको सनग्लासले मलाई गिज्याइरहेको थियो रातभर । म झुस्स थिएँ । केही थिएन । मेरो सम्पत्ति भन्नुनै मेरो शरीर मात्र थियो । मेरो अन्तष्करणमा यी ग्याजेटहरुले पटक(पटक प्रहार गरिरहन्थें । म पटक(पटक घाइते बनिरहन्थें । अनायसै घर विम्वाकृत हुन्थ्यो । विगतको अभाव बेस्मारी झम्टिन्थ्यो । आमाको फाटेको फरियाले बेर्थ्यो मलाई । बाको च्यात्तिएको स्टकोटको धुजाले आँखा टाल्न खोज्थ्यो । म निसासिन्थें ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *