दुधेमा सरसफाई सप्ताह सम्पन्न

शान्तिराम बस्नेत /

१७औं जिल्लाव्यापी सरसफाई अभियान अन्तरगत समापन कार्यक्रम दूधेमा हुने पूर्वसूचना बमोजिम उक्त क्षेत्रमा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरु दूधे बजार सरसफाईमा व्यस्त देखिन्थे ।

तर, दूधे बजारकै स्थानीयहरु भने रमिते बनेर बसिरहेका देख्दा पंक्तिकार दूधेबासी भएकै नाताले आफैलाई अप्ठ्यारो महशुस भइरहेकै थियो । अन्य ठाउँका आगन्तुकहरु आएर दूधे सरसफाईमा व्यस्त हुँदा दूधेबासीलाई कति पनि सरम नभएको आभाष सजिलै गर्न सकिन्थ्यो । यता अर्कोतिर सतासीधाम जेसीजको रक्तदान कार्यक्रम पनि चलिरहेको थियो ।

111

सोही समयमा लगभग १६–१७ उमेरका १० युवाहरु अचानक दूधे सडकखण्डको बीचमा आएर झगडा मात्र होइन, कुटाकुट पनि गर्न शुरु गरे । सडकको बीच भागमा यसरी कुटाकुट गर्दा सवारी आवत–जावतमा समेत बाधा परेको थियो । त्यहाँ ती युवाहरु कुटाकुट गर्दा शुरुमा छुट्याउन कोही पनि नगएको आभाष सजिलै गर्न सकिन्थ्यो । पत्रकार को नाताले यो पंक्तिकारले भकाभक क्यामेरा खोली तस्वीर लिन समेत तयार भयो ।

यता, कुटाकुट पर्न थालेपछि केही स्थानीयहरु तथा राजनीतिक दलका नेताहरु छुट्टयाउन गए । तर, त्यही भीडबाट अचानक तक्मे बुढाको आवाजमा “हिजो होइन, आज होइन सधैं यसले मेरो बारीमा आएर दिसा बस्दा हैरान भएपछि नाति केटाले साथीहरु लगाएर कुटाएछ, ठीक पा¥यो बारी हगुवालाई” भनेर भन्दा मात्र थाहा भयो त्यो त सरसफाई सम्बन्धीको सडक नाटक पो रहेछ । हो, यसरी नै शुरु भएको थियो सरसफाई सचेतनामूलक सडक नाटक ।

श्री राष्ट्रिय रमणीय आदर्श उमावि दूधेका बिद्यार्थीहरु प्रसन्न दवाडी, रोहित चौधरी, मञ्जिल नेपाल, मन्दिप  थेवे, सन्दिप प्रसाई, पाल्देन लामा, कुशल नेपाल, सिससोन राई, रवि पौडेल, अनिसा घिमिरे, छुनु लम्सम, ममता देवान, तोया कटवाल, जीवन उप्रेती, प्रज्ञा अधिकारी, निसान घिमिरे, बिजय उप्रेती, कृष्णप्रसाद कोइराला लगायत अभिनित उक्त सडक नाटकले चर्पीको अभावले घट्न सक्ने सम्भावित घटना र समाधानका उपाय तथा जैविक विषादी, वातावरण प्रदुषण लगायतका विषयमा उठान गरी रचिएको नाटकको जीवन्त अभियनले सबैलाई मनोरञ्जन तथा शिक्षा समेत दिएको थियो ।

श्री राष्ट्रिय रमणीय आदर्श उमाविका शिक्षक गोविन्द काफ्लेद्वारा लिखित तथा निर्देशित उक्त सचेतनामूलक सडक नाटकमा लेखक आफैं नगरपालिकाका हाकिम साहेबको भूमिकामा खेल्न पात्रहरुले अनुरोध गर्दा नगरपालिकाकै अधिकृत उठेर बोल्न खोज्दा नाटक भित्रकै पात्रले उक्त अभियन गर्न थालेपछि दर्शक दीर्घामा हाँसो भएको थियो ।

“घर–घरमा सफा चर्पी, हामी जिम्मेवार, स्वच्छ पानी, स्वस्थ्य बानी हाम्रो सरोकार” भन्ने नारा लिएर गत जेठ २३ गते भद्रपुर नपादेखि शुरु भएको उक्त सरसफाई तथा स्वच्छता सप्ताह कार्यक्रम बिर्तामोड नपा, बैगुन्धुरा, बुधबारे र कोरोबारी तथा खजुरगाछीमा सम्पन्न भएको खानेपानी डिभिजन कार्यालयका रुद्रबहादुर न्यौपानेले बताए ।

दूधेस्थित श्री राष्ट्रिय रमणीय आदर्श उमाविमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका स्थानीय विकास अधिकारी खेमराज ओझाले सरसफाईका निम्ति सबै लागेर झापा जिल्लालाई पनि चाँडै नै अब खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने अभियानमा रहेको बताए । साथै, सार्वजनिक स्थलहरुमा शौचालय निर्माण गर्नका लागि जिल्ला विकास समिति, झापाले कदम चाल्ने कुरामा जोड दिएका थिए ।

यसैबीच शिवसताक्षी नगरपालिकाले सोही अवसरमा गरेको नगरपालिका स्तरीय सामुदायिक विद्यालय अन्तर मावि वतृत्वकला प्रतियोगितामा श्री राष्ट्रिय रमणीय आदर्श उमावि  दूधेका कुशल नेपाल प्रथम, झिलझिले माविका बिमल सुब्बा द्वितीय र बालनिकुञ्ज उमावि माइधारकी एलिना कट्टेल तृतीय भएकी थिइन् ।

स्वच्छ र समृद्ध नगरका लागि सरसफाई भन्ने विषयमा उक्त वतृत्वकला भएको थियो । बिजेता विद्यार्थीहरुलाई प्रमुख अतिथि स्थानीय विकास अधिकारी खेमराज ओझाले नगद १५ सय, १ हजार र ५ सयका साथै प्रमाण पत्र वितरण गरेका थिए ।

त्यस्तै उक्त जनचेतनामूलक सडक नाटक विद्यार्थीहरुद्वारा गरेको अभियनलाई अझ हौसला प्रदान गर्नका लागि खानेपानी तथा डिभिजन कार्यालयका प्रमुख चोकप्रसाद धितालद्वारा नगद २ हजार र पत्रकार सेलिङ केसीद्वारा नगद ५ हजार प्रदान गरेका थिए ।

कार्यक्रममा खानेपानी तथा डिभिजन कार्यालयका इञ्जिनियर प्रमोदकुमार दत्त, प्राविधिक तारा भट्टराई, नेपाली कांग्रेस शिवसताक्षीका सभापति पर्शुराम ढुङ्गाना, नेकपा एमाले शिवसताक्षी अध्यक्ष धनबहादुर थेवे, एनेकपा केन्द्रका ढुण्डीराज गुरागाँईं, राप्रपाका डिल्ली फेम्बु, संघीय समाजवादीका जापान थेबे, विभिन्न विद्यालयका प्राचार्य तथा प्रधानाध्यापक, वडा स्तरीय खानेपानी तथा स्वच्छता समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

सप्ताहव्यापी समापन कार्यक्रम शिवसताक्षी नगरपालिकाका अधिकृत हरीप्रसाद गुरागाँईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सताक्षी प्रेस क्लबका अध्यक्ष छबिलाल दवाडीको रहेको थियो भने कार्यक्रम सञ्चालन खानेपानी तथा सरसफाई कार्यक्रमका प्राविधिक तथा प्रशिक्षक रुद्रबहादुर न्यौपानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *