दुतावास परिसरको पसल बन्द, राजदुतको मिलेमतोमा खोलिएको खुलासा

युएई, वैशाख १० – युएईको आबुधाबीस्थित नेपाली दूतावास हाताभित्र सञ्चालित पसल बन्द गरिएको छ । प्रवेशद्वारको दाँया भागमा दूतावासको भवनमै आड लगाएर दुई वर्ष अघि थापिएको फोटोकपी, टाइपिङ तथा फोटो स्टुडियो पसल बन्द गरिएको हो ।

सन् २०१४ फ्रेबुवरीबाट सञ्चालित पसल दूतावासमा आउने सेवाग्राहीलाई सजिलो हुने भन्दै अवैध रुपमा सञ्चालन गरिएको थियो । युएईका लागि तत्कालिन राजदूत धनञ्जय झाको एकल निर्णयमा खोलिएको पसल कार्यकाल सकेर झा नेपाल फर्किए लगत्तै दूतावासकै अधिकारीको निर्देशनमा बन्द गरिएको हो । कार्यकाल सकिएपछि राजदूत झा गएको शुक्रबार नेपाल फर्किनु भएको हो ।

नेपाली व्यावसायिक संस्था ग्रिन लाइन ग्रुपको लगानी रहेको पसल सञ्चालन गर्न तत्कालिन राजदूत झाको संरक्षण रहेको दूतावासका कर्मचारीहरुले बताएका छन् । पसल खोल्न राजदुत झाले व्यावसायिक प्रतिष्ठानबाट ठूलो आर्थिक लेनदेनको सम्झौता गरेको स्रोतको भनाइ छ ।

‘हामीले यस अघि नै बन्द गर्न अनुरोध गर्दै आएका थियौं, महामहिमले मान्नु भएको थिएन् ।’ दूतावासका एक अधिकारिले भने । ‘दूतावासमा त्यसरी पसल सञ्चालन गर्नु अवैध काम हो । राजदूत फर्किए पछि हामीले मिलेर पसल बन्द गरायौं ।’

पसलमा खपत भएको विजुली, पानी र इन्टरनेट समेतको विल दूतावासले बुझाउँदै आएको स्रोतको दावी छ । दूतावासमा आउने नेपालीलाई सेवा दिने बहानामा खोलिएको पसल अवैध रहेको भन्दै बन्द गर्न सुरुबाटै दवाव दिइएको थियो ।

पसल खोल्न टेण्डर आव्हान समेत नगरिएको र दूतावासमा अवैधानिक रुपमा व्यवसाय गरिएको भन्दै विभिन्न संघसस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरुले विरोध गर्दै आएका थिए । तर कतिपय राजनीतिक दलले राजदूत झालाई संरक्षण गरेको र त्यसैको आडमा व्यवसाय सञ्चालन भइरहेको थियो ।

दूतावास आउने सेवाग्राहीले पसलमा एमआरपी आवेदनको फारम भर्ने, कागजपत्र फोटोकपी गर्ने, पासपोर्टका लागि फोटो खिचाउने गरेवापत महँगो शुल्क तिर्ने गरेका थिए । यहीं कामलाई सुविधा भएको देखाएर विदेशस्थित नियोग कार्यालय परिसरमै अवैध रुपमा व्यवसाय सञ्चालन भए पछि केहि संघसस्थाका प्रतिनिधिले कारवाहीका लागि अख्तियारमा उजुरी दिएका थिए ।

बाहिर एमआरपी फारम भरेर दूतावास पुग्ने नेपालीको फारम विभिन्न बहाना देखाएर अस्विकृत गर्ने र दूतावास परिसरमै सञ्चालित पसलमा गएर फारम भरेर आउन सेवाग्रहीलाई दूतावासका कर्मचारीले फर्काउने गरेको गुनासो त्यहाँ पुग्ने नेपालीहरुको थियो ।

नेपालीकै लगानी रहेको र केहि नेपालीले समेत रोजगारी पाएको भन्दै पसल फेरी सञ्चालनमा ल्याउनुपर्ने ग्रिन लाइन ग्रुपका सञ्चालक बालकृष्ण खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले नै पसल सञ्चालन गर्नुपर्छ भन्ने होइन्, अरुले गरेपनि हुन्छ । नेपाली कामदारले चाहिँ सुविधा पाउनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *