“कौब्रुको काखबाट” कविता संग्रहलाई नियाल्दा

Padam Prasad Dahal— पदमप्रसाद दाहाल 

देवीप्रसाद सुँयल थापा ‘मामा’ संग केही वर्ष अघिदेखि नै म परिचित छु । उनको बोल्ने कला, व्यक्तित्व र हिमचिमका कारणले मात्र नभई उनका साहित्यिक कलाले मलाई निकै नजिक्याएको छ । प्रथमतः उनी एक ख्यातिप्राप्त लघुकथाकारका रुपमा नेपाली साहित्यमा आफूलाई उभ्याउन सफल भएका छन् । मैले यसभन्दा अघि नै उनका “सासू” र “माइती” लघुकथा संग्रहको बारेमा समीक्षा गरिसकेको थिए र उनलाई साहित्यका अन्य विधामा पनि कलम चलाउन आग्रह गरेको थिँए । नभन्दै एक वर्ष बित्दा नबित्दै उनले एउटा कविता संग्रह “कौब्रुको काखबाट” मेरो हातमा थमाइदिए ।

पहिले त शीर्षक नै मलाई अपरिचित र अनौठो लाग्यो । उनलाई प्रश्न गरे : कौब्रु के हो ? उनले “कौब्रु एउटा यस्तो ऐतिहासिक धार्मिक स्थल हो, जसलाई त्यहाँका नेपाली मात्र होइन, सम्पूर्ण प्रवासी नेपालीले भुल्न सक्दैनन्” भन्ने जवाफ तेस्र्याउँदैं उक्त कविता वाचन गरी सुनाए । मणिपुरे भाषाका प्रशस्त शब्दहरु प्रयोग भएको उक्त प्रतिनिधि कवितामा ती शब्दको अर्थ बुझ्दा साँच्चैं नै कौब्रु नेपालीहरुको वाहुल्यता र वीरताले टेकेको पौरखी ठाँउ रहेको तर विस्थापित हुन वाध्य पारिएका नेपालीहरुको पीर–व्यथा त्यसमा लुकेको पाएँ । उनका कविताहरु पढ्दै गएँ, मनन गर्दै गएँ । धेरै कविताहरु पढिसके पछि मलाई यस्तो अनुभूत भयो वास्तवमा सुयँल ‘मामा’ थोरैमा धेरै गहन कुरा व्यक्त गर्न सक्ने एक प्रतिभा सम्पन्न व्यक्तित्व हुन् ।

फुटकर कवितामा कथानक हुँदैंन, भावहरु गहन हुन्छन् । शब्दजाल वा शब्द सच्चाले मात्र भरिएको तर भाव नभएको कविता निष्प्राण बन्दछ । ‘मामा’ का कवितामा त्यस्तो शब्दजाल विछ्याइएको छैन तर भाव तिख्खर छ, गहन प्रस्तुति छ, जुनकुरा पाठकका लागि ग्राह्य ठहर्छ । लघु कथाकारका रुपमा स्थापित ‘मामा’ कवितामा पनि लघु कविता मार्फत नै आफ्ना भावनाहरु पोख्छन् । समाजमा घट्न सक्ने सामान्य भन्दा सामान्य कुराहरुलाई पनि कविताको शीर्षक बनाएर गहन विचार दिन सक्नु उनको मुख्य विशेषता हो । शीर्षकको बारेमा उनी घोरिदैंनन् तर शीर्षकलाई पुष्टि गर्न उनी सचेत र सबल देखिन्छन् । लघुकथामा झैं यस संग्रहका कविता पढिसकेपछि मात्र फ्यास्स शीर्षकको गाँठो फुक्दछ र शीर्षकको औचित्य पुष्टयाँई हुन्छ ।

सुयँलजीका कवितामा समाजका विविध पक्षको चित्रण पाइन्छ । राजनीतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, मनोवैज्ञानिक, नैतिक, भौगोलिक, प्राकृतिक आदि हर क्षेत्रलाई समेट्न खोजिएको छ । साँच्चैं भन्ने हो भने उनमा यस्तो विविध विषयको ज्ञान छ जुन कुरा जोसुकैसंग सम्भव छैन । प्रायः साहित्यकारहरु कुनै एक पक्षलाई लिएर त्यसको साङ्गोपाङ्गो विवरण प्रस्तुत गर्छन् तर सुयँलजीले भने सबै पक्षमा हात हालेर आफ्नो प्रतिभा देखाउने हिम्मत गरेका छन् । यस दृष्टिले हेर्दा उनी भविष्यमा एक बेग्लै पहिचान कायम गर्न सक्ने सफल साहित्यकारका रुपमा स्थापित हुन सक्नेछन् ।

कवितामा अभिधा शब्द शक्तिले काम गर्दैन, लक्षणा र व्यञ्जना शक्तिमा भर पर्नुपर्छ । यसका लागि बिम्व प्रतीकहरुको सहारा लिनै पर्दछ । कविले यस संग्रहका कवितामा प्रशस्त बिम्व र प्रतीकहरुको माध्यमबाट भाव व्यक्त गरेका छन् । स्वच्छन्द रुपले भावहरुलाई पोख्दै जाँदा कहीं कहीं शब्द प्रयोग र व्याकरणिक चिन्ह प्रयोगमा त्रुटी देखिएता पनि भाव व्यक्त्याइले ती सबै कमजोरीहरुलाई मज्जैले छोपेको छ ।संरचनात्मक दृष्टिले हेर्दा यस संग्रहभित्र १ सय २ वटा कविताहरु समेटिएका छन् । आकारका दृष्टिले हेर्दा यस संग्रहभित्रका कविताहरु अति छोटा, छोटा र ठीक्कका गरी ३ भागमा विभाजन गर्न सकिन्छ ।

अति छोटा कविताहरुमा आत्मा परमात्मा, फूलबारी, चोइटिदैं छ मान्छे, सित्तैको जीवन, बाल्मीकि, रुप, वाह, रस, नबोल, पानी, टिकेन्द्रको माटो, रगत, अत्याचारी छोरो, गीत, अज्ञात अस्तित्व, सम्राट, वुद्ध, हत्या जस्ता १८ वटा कवितालाई लिन सकिन्छ भने छोटा कवितामा पद चिन्ह, पीर, ब्ल्याक होल, रामायण, तारा, चमत्कारी, घण्टी, श्रेष्ठ कुलपति, सृष्टि, नसुत, बर्को, हिडैं, बिसङ्गत यात्रा, पानी, धिक्कार, बाहादुर, कुमालकोठी, बुख्याँचा, मृत्युको खास्टो, ह्याङ्गर, अहम्, अशक्त मन, गाथा, बलात्कार, खोई, चिम्टा, ढुङ्गामा उतारे, चेली, गोलो छ, अचम्म, वाद, महाशय, मोल, चिहानको आकार, पहिचान जस्ता ३५ वटा छोटा कविताका रुपमा राख्न सकिन्छ । बाँकी रहेका पूर्व सर्त, मिठापानी, रक्ताम्मे माटो, प्रतिबिम्बहरु इत्यादि ४९ वटा कविताहरु ठीक्कमा कविताका रुपमा छन् ।

कविताभित्रका परिवेशलाई नियाल्दा यस संग्रहभित्र प्रायः मणिपुर क्षेत्रको वातावरण, रीतिरिवाज, संस्कृति र भूगोल पाइन्छ । त्यसैले उनका कवितामा आञ्चलिकताले प्रश्रय पाएको देखिन्छ । प्रवासी नेपालीहरुको पीर, व्यथाको झलक स्पष्ट देखिन्छ भने नेपालीपन, नेपाली संस्कृति जोगाउन धौ–धौ परेको स्थिति बारे पनि कविताहरुले इङ्गित गरेका छन् । नेपाली हुनुको नाताले नेपाल देश र नेपाली संस्कृति, परम्परा किमार्थ भुल्न नसकिने अभिव्यक्ति कवि ‘मामा’ ले पस्किएका छन् यस कविता संग्रहमा । त्यसैले नेपाली साहित्यलाई माया गर्ने प्रवासी साहित्यकारहरु मध्ये कवि देवीप्रसाद सुँयल थापा ‘मामा’ अग्रपंक्तिमा रहेका छन् ।

उनका कवितामा क्रान्तिकारिता र राष्ट्रियताको भावना पनि सबल रुपमा उत्रिएको छ । उदाहरणका रुपमा ‘भोट’ भन्ने कविताका केही पंक्तिलाई हेरौं :

हिसाब माग्छौं
कहाँ छाड्छौं र ?
पक्का तिमीसंगै लिन्छौं
औंला भाँची–भाँची चुक्ता गराउँछौं
माटाको मोल
तोडफोडको मोल
प्रलयको मोल
थाहा छ तिमीलाई ?
ढुङ्गाहरु बोल्छन् हामीसंग ।
यसरी कविले आफ्ना अस्तित्वमा नेपाली जातिको अस्मिता कायम राख्न, अन्याय अत्याचारको विरुद्धमा हुँकार गरेका छन् । त्यसैगरी “सावधान” भन्ने शीर्षकमा कवि भन्छन् ः
घरहरु लुट्दैमा सर्वस्व लुटें नठान
करौडौं शक्तिशाली
बाहुहरु जन्मन्छन् अझै
दुइचार जना मार्दैमा सर्वस्व सकेँ नठान
करोडौं पौरखी
सन्तानहरु जन्मन्छन् अझै

यो कवि भित्रको क्रान्तिकारी भावना र विद्रोही स्वर हो । निरङ्कुश शाषक र तिनका मतियारहरुलाई दिएको यो एक दह्रो झापड हो । उनका कवितामा प्रत्येक शीर्षकले केही न केही जीवनोपयोगी सन्देशहरु दिएका नै छन् । जसमा उनी कहीं आशावादी कहीं निराशावादी, कहीं भौतिकतावादी त कहीं आध्यात्मिक चिन्तनमा उभिएका छन् । माथि नै भनियो कि विविध क्षेत्रको ज्ञानको अध्ययन गर्ने उनको व्यक्तित्वले विविध क्षेत्रमै सञ्चार प्रभाहित गरेको छ ।

जे होस्, उनी एक निर्भिक साहित्यकार हुन् र साहित्यका सबै क्षेत्रमा प्रवेश गर्न उनी समर्थ रहुन् । उनको साहित्यिक जागरण अझ वृद्धि हुँदैं जाओस् । नेपाल, नेपाली माटो र नेपाली मनलाई सधैं आत्मसात् गर्दै उनको साहित्यिक यात्रा अविरल अगाडी बढोस् ।
शुभकामना

(यो पुस्तकका समीक्षक पदमप्रसाद दाहाल एक साहित्यकार तथा समीक्षक हुनुका साथै भगवती उच्च माध्यमिक विद्यालय, शिवसताक्षी नपा–३ का पूर्व प्राचार्य समेत हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *