कन्काईमा माझी जातीको कोशी (लदी) पूजा सम्पन्न

शान्तिराम बस्नेत / 

शिवसताक्षी, फागुन १७ – नेपाल माझी उत्थान संघ, जिल्ला कार्य समिति झापाको आयोजनामा मंगलबार धार्मिक तथा पर्यटकीय स्थल कनकाई माइको तटमा कोशी (लदी) पूजा सम्पन्न भएको छ ।

माझी जातीको ठुलो तथा महत्वपुर्ण पर्वको रुपमा मानिने लदी पुजामा विभिन्न जिल्लाका हजारौ माझी समुदायको उपस्थिती रहेको थियो ।
पुजा कार्यक्रममा बोल्दै माझी उत्थान संघ, वरिष्ठ उपाध्यक्ष मेघनाथ माझीले यो देशका भूमीपुत्र माझीहरुलाई राष्ट्रिय चाड कोशी (लदी) पूजामा सार्वजनिक विदा नदिएकोमा आक्रोश व्यक्त गरे । उनले माझी जातिहरु भनेको यो देशको प्राचीन सभ्यताको गहना भएकोले यसलाई समान व्यवहार गर्नुपर्ने समेत खबरदारी गरेका छन् ।

कार्यक्रमका अधिकांश वक्ताहरुले माझीहरुको पहिचान र अस्तित्व वचाउन आफू सक्षम हुनुपर्ने बताउनुका साथै सरकारले आदिवासी जनजातिको आवाजलाई उपेक्षा गरिरहेको बेला माझी जातिहरु सचेत हुनुपर्नेमा जोड दिएका थिए । त्यस्तै कार्यक्रममा बोल्दै पत्रकार मन कुमार गदालले माझीहरुको लागि सरकारले सम्मानजनक व्यवहार गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा हिमालय टेलिभजन तथा नेपाल टेलिभिजनको संयुक्त आयोजनमा सम्पन्न भएको लेट मि डान्स नेपाल रियालिटी सो कि बिजेता झाापा बुधबारे निवासी अञ्जली माझीलाई नेपाली माझी समुदायको शिर उच्च राख्न सपफल भएको सम्मान समेत गरेको थियो ।

त्यस्तै प्रवेशिका परीक्षा २०७१ मा झापाबाट उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने माझी समुदायका विद्यार्थीहरुलाई हौसला स्वरुप पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुनेहरुमा शिवसताक्षी ८ की एलिना माझी, पूजा माझी र लक्ष्मी माझी, शिवसताक्षी–४ का सुजन माझी र रोमा माझी तथा दमक नगरपालिकाकी मेलिना माझी रहेका छन् ।

साद्री समाजका अध्यक्ष वन्दन कुमार मुण्डाले माझी जातिका विद्यार्थीहरुको हौसला बढाउनका लागि प्रत्येक वर्ष यस प्रकारको पुरस्कार दिदैं आएका छन् । कार्यक्रममा माझी जातिहरुको पहिचान झल्कने बिभिन्न खालका झाँकीहरु प्रस्तुत भएका थिए ।

पुख्र्यौली पेशा डुङ्गा तार्ने र माछा मार्ने काम भएका यस जातिको मान्यता अनुसार नदीलाई खुसी पार्न सके वर्षायामको भेलबाढी, प्राकृतिक विपक्तिले समेत आफूहरुको रक्षा गर्ने परम्परागत विश्वासका साथ माझी समुदाय नदीको पूजामा सहभागी हुने गरेका छन् ।

जिविस झापाका सामाजिक विकास अधिकृत हेमराज सेढाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता माझी उत्थान संघ, झापाका अध्यक्ष सन्तलाल माझीको रहेको थियो भने कार्यक्रमको स्वागत जिल्ला सदस्य सन्तबीर माझीको र कार्यक्रम सञ्चालन सचिव कृष्ण माझीको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *