बजेट बनाउदै जिविस झापा पूर्वाधार निर्माणमा प्राथमिकता

jhapa-district-mapदमक, पुष मसान्त भित्रमा गाउँ तथा नगर परिषद सकिए पछि जिल्ला विकास समितिहरु जिल्लाको बजेट बनाउने चटारोमा छन् ।
वडा तथा टोल तह देखि नैं गाउँ र नगरमा आएका योजनाहरुको बिश्लेषण गरि जिल्ला स्तरीय योजनाहरु छनौटको काम भई रहेको जिल्ला विकास समिति झापाले जनाएको छ । जिल्ला स्तरीय योजना तर्जुमाका लागि ईलाका स्तरीय योजना तर्जुमा गोष्ठिहरु सकि सकेको जिविसका सुचना अधिकृत प्रकाश चौधरीले जानकारी दिए । जिल्लाका १७ ओटै ईलाका स्तरीय गोष्ठिबाट ईलाका स्तरीय योजनाहरु छनौंट हुने र फागुन मसान्त भित्रमा जिल्ला परिषद सकिने उनले जनाएका छन् । जिल्ला परिषदको तयारीकै क्रममा आगामी फागुन ९ गते देखि बिषयगत समितिमा योजनाहरुका बारेमा छलफल हुने छ ।
जिल्ला विकास समिति झापाका अनुसार जिल्लाका सबै नगरपालिका र गाविसहरुले परिषद सम्पन्न गरेका छन् । गाउ–नगर परिषदकै क्रममा अन्य बिषय भन्दा विद्युतीकरण र सडक विस्तार मुख्य योजनाका रुपमा आएका हुन् ।
गाविसहरुले सरकारबाट पाउने अनुदान र आन्तरिक स्रोतको बजेटबाट सञ्चालन गर्न सकिने विकास निर्माणका योजनाहरु हरेक गाविसमा गठित वडा नागरिक मञ्चबाट सिफारिस भइ आए बमोजिम छनौट गर्दै स्वीकृत गरिएका हुन् । बजेटबाट गाविसले खर्च गर्न सक्ने प्रशासनिक खर्च र विकास बजेट समेत परिषदबाट नै अनुमोदन गर्नुपर्ने व्यवस्था अनुसार ति परिषदहरु सम्पन्न गरिएका हुन् । विभिन्न गाविस स्रोतहरुका अनुसार झापाका अधिकांश गाविसको बजेट स्थानीय सडकको स्तरोन्नती, नया सडक खन्ने, कल्भर्ट निर्माणका साथै थप विद्युत विस्तारका योजनामा केन्द्रीत छ । त्यसबाहेक स्थानीय समस्याका रुपमा रहेको खोला खोल्सी तटबन्धन, कुलो पैनी निर्माण, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि बिभिन्न योजनाहरु माग भएको सुचना अधिकृत चौधरीले बताएका छन् ।

ग्रामिण क्षेत्रमा भने धेरैजसो स्थानीयबासीले विकास निर्माणका बजेट माग गर्ने गरेको पाईएको छ । लखनपुर गाविसका सचिव राजकुमार शाक्य धेरै जसो नया तथा पुराना सडकहरुको स्तरोन्नती, विद्युतीकरण, ग्राभेल लगायतका योजनाहरु माग भएर स्विकृत भएको बताउ“छन् । पूर्वाधार पुगेका वडाहरुबाट भने कृषि, शिक्षा, महिला विकास लगायतका बिभिन्न क्षेत्रमा पनि योजनाहरु परेको उनले जनाएका छन् ।
अधिकांश गाविसका बासिन्दाले विद्युत विस्तार र सडक सञ्जाललाई महत्व दिने गरेका छन् । बजारीकरण हुँदै गरेका क्षेत्रमा समेत कृषि सडक, ग्राभेल तथा कालोपत्रेको आवश्यकता रहेको भन्दै त्यस्ता योजनाहरुको माग भएको र श्रोत साधनले भ्याए सम्म बजेट बिनियोजन गरिएको गौरादह नगरपालिकाका कार्यकारी अधिकृत कृष्णबहादुर कार्की बताउँछन ।

नयाँ नगरपालिकाहरुमा भने स्थानीयबासीहरुको विकास प्रतिको महत्वकांक्षा बढेको पाईएको छ । नयाँ नगरपालिका गौरादहमा साविकका गाविसका बासिन्दाहरुले खानेपानी, स्वास्थ्य संस्थाका पूर्वाधार, सडक कालोपत्रे र ग्राभेल लगायतका योजनाहरुको बढि माग गरेको नगरपालिकाका कार्कीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *