हिउँको कविता

– पञ्च विस्मृत

आततायी समयको ढाँडमाथिमाथि
सुस्तरी सार्दै कदम
फेरि
टुप्लुक्क आइपुगेको छ ठन्डी
र बिस्तार गरेको छ
साम्राज्य मेरो छातीभित्र

हिउँदमा पहेँलिएको झार जसरी मेरा आँखा
सुदूर पूर्वतिर फर्किएर
लोलाएका छन्
जहाँको एउटा चौबाटोमा उभिएर
एक अन्तिम पल्ट लेखेको थिएँ प्रेम –
आश्वासनको मसीले
तर मेटिनै लागिसकेको छ रे
निधारबाट मेरी प्रेयसीको
एक झोक्का ठन्डी
बहेर आएको छ यसरी
पूर्वबाट यता परदेशमा

त्यो धूलो, त्यो माटोको सुगन्ध
ती गोरेटाहरुको किरिङमिरिङ कलात्मक नक्सा
म अनुभव गर्न सक्छु यहीबाट
कतै दुई चार उपद्रयाहाहरु मिलेर
‘एडित’ त गरेनन् ?
अथवा ‘रिराइटिङ्’ पो गरिँदैछ कि इतिहासको ?
अथवा झुक्दैछ कि मेरो देशको स्वाभिमानले
अथवा राष्ट्रकोभन्दा
राज्यको स्वर पो ठूलो भयो कि ?
ठन्डी
असाध्यै बढेको छ मनमा

निहुरिन्छु उभिएको धरातलतिर –
निहुरिन भुलेको एक निहुराइ
मैले उभिएको एक चपरी माटो
मेरो खेदो खन्छ
छिमेकमा जन्मेको आतङ्कवाद
सडकबाट उठेर आएको जँड्याहालेझैँ
मलाई चेतावनी दिन्छ
छिमेकमै जन्मिएको मानवताविरोधी महामारी
मलाई सिमाना काट्न भन्छ

विवशताको जरो पलाएको पाउपाइताला
उखाल्न खोज्छु,
उखालिँदैउखालिँदैन
र, चियाउछु मनभित्र एक हैरानी
जो ठन्डीले निथ्रुक्क भिजेको छ

छामेको छु आफ्नो शरीर
पुरै चिस्सिएछ
यो ठन्डीबाट उन्मुक्ति खोज्दा
मेरो आफ्नै तर निठूर समयले साथ दिएन
न त सहयोग नै ग¥यो आफ्नै आत्मविश्वासले

र बलजफ्ती बस् केही कदम अघि सार्न खोज्दा
लडेछु चिप्लिएर
हिउँमाथि

जहाँ मेरा अनियन्त्रित हातहरुले
लेख्न पुगेछन्
एक कुरुप समयविरुद्ध
लेखिएको बकपत्रजस्तो
हिउँको कविता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *