पात्र होईन प्रवृती फेरिनु पर्छ

3c7f8c5d-7b4d-43c6-83cf-0dddebd6b064राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर स्थित जानकी मन्दिरमा आयोजीत विवाह पञ्चमी उत्सवमा सहभागी हुने क्रममा मधेशी मोर्चाको नामबाट कार्गेटमा पेट्रोल बम प्रहार भयो । उनी सहभागी भएर फर्किए पछि अनेक लाल्छना लगाउँदै मन्दिरमा गंगाजल छर्किईयो । एकल महिला मन्दिरमा प्रवेश गरेको भनि अमानविय शव्दहरु राष्ट्रप्रमुखको गालिमा खर्चियो । यस घटनाको स्थानीय तथा राष्ट्रिय तहबाट चर्को बिरोध भई रहेको छ । सरकारले छानविन समिति गठन गरेको छ भने प्रहरीले केहि व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । राष्ट्रप्रमुख माथिको सो घट्नाको बिभिन्न महिला संगठनहरुले पनि बिरोध गरि रहेका छन् । प्रस्तुत छ, बिरोधका कार्यक्रम तथा समसामयीक गतिविधीबारे झापाको विर्तामोड निवाशी अखिल नेपाल महिला संघ झापाकी अध्यक्ष जसमायाँ गजमेरसँगको यो कुराकानी :
राष्ट्रप्रमुख माथिको अपमान र आक्रमण प्रयासको बिरोधमा महिलाहरुले प्रदर्शन गरि रहेका छन्, दोषि माथि कार्वाहीको माग गर्दै किन प्रदर्शन गर्नु प¥यो ? सरकारले सोझै दोषिलाई कार्वाही गरे हुँदैन र ?
जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जुन आक्रमणको प्रयास र उहाँ हिडे पछि जुन प्रकारका मानवियतामानैं कलंक राख्ने घट्ना भए यि सवै बिरोधका मात्र बिषय होईनन् । समग्र महिला, त्यसमाथि एकल महिला माथि समाजको एउटा तप्काले कस्तो दृष्टिकोण राख्दो रहेछ अझै, यस घटनाले देखाएको छ । यदि विद्या भण्डारीको स्थानमा कोहि पुरुष राष्ट्रपति भई दिएको भए कसैले बिरोध प्रदर्शन र ज्ञापन पत्र बुझाउनै पर्ने थिएन । त्यसैले समग्र नीति निर्माण र राज्यमा पात्र होईन प्रवृती फेरिनु पर्छ भन्ने देखाएको छ । त्यसैले हामी अहिले दोषिमाथि कार्वाहीको माग गर्दै आन्दोलन गरि रहेका छौं ।
अहिले सरकारमा सामेल दलकै महिला संगठनहरु आन्दोलनमा छन् । तर प्रधानमन्त्री एमालेकै, राष्ट्रपतिनैं पनि एमालेबाटै सो स्थानमा पुग्नु भएको, गृहमन्त्री एमाओवादीको अनि ति दलकै महिलाहरुले आन्दोलन गर्नु र माग राख्नु पर्ने कसलाई हो ?
पछिल्लो पटक राष्ट्रपति प्रति जुन घट्ना भयो र त्यस पछि जसरी अन्य घट्नाक्रम हरु विकास भए यसले त समग्र नेपाली समाजको चित्रण गरि रहेको छ । हो, सरकारमा सामेल दलकै महिला संगठनहरु अहिले कार्वाहीको माग गर्दै सडकमा उत्रिएका छौं । हुन त केहि पक्राउ परे र सरकारले छानविन समिति पनि बनाई सकेको छ । त्यसैले आशा गरौं राष्ट्रपति प्रति दुव्र्यभार गर्नेहरुले कार्वाही त पाउलान् । तर यस प्रकारका घट्ना हामीले थाहै नपाई समाजमा कति भई रहेका हुन्छन् । विधुवाका नाममा अझै पनि नेपाली महिलाहरु परिवार भित्रैबाट हिंसा सहन बाध्य छन् भन्ने देखायोे यो घटनाले । राष्ट्रप्रमुखलाई त्यो निच स्तरको लाल्छना लाउन आँट गर्नेले विपन्न, ग्रामिण र असहाय महिलाहरु माथि झन कस्तो दृष्टिकोण राखेका होलान् ? महिला माथि अझै कायम त्यस प्रकारका दृष्टिकोणहरु भत्काईन आवश्यक छ भन्ने ध्यय हो हाम्रो ।

अहिलेको प्रदर्शन र बिरोध बाहेक नियमित रुपमा चाँहि अनेमसंघले झापामा के गरि रहेको छ ?
हामीले संगठनलाई जिवन्त र चलायमान राख्न बिभिन्न नियमित कार्यक्रमहरु गर्दै आएका छौं । खास गरि संगठन सुदृढिकरण, महिला हिंसाको अन्त्य र महिला शसक्तिकरणका लागि हाम्रा कार्यक्रहरु केन्द्रित रहने गरेका छन् । यसका लागि संगठन निर्माण, परिचालन, सदस्यता विस्तार तथा युवामाझ अनेमसंघलाई स्थापित गराउन हामी बिभिन्न कार्यक्रम सञ्चालन गरि रहेका छौं ।

झापाकै राजनीतिमा पनि महिलाहरु केहि वर्ष क्रियाशिल रहने तर नेतृत्वमा पुग्न नसकि राजनीतिबाट किनारा पुग्ने अवस्था पनि देखिएको छ, किन हुन्छ यस्तो ?
स्वभाविक रुपमानैं महिलाहरु माथि पुरुषहरुको भन्दा धेरैनै दायित्वहरु हुन्छन् । युवा अवस्था सम्म पढ्ने, बुवाआमा तथा दाजुभाइको निर्देशन अनुसार चल्नु पर्ने । विवाह गरे पछि श्रीमान र सासुससुराको निर्देशन अनुसार चल्नु पर्ने । सन्तान जन्माउनु र हुर्काउने पर्ने अनि त्यस पछि उनीहरुको शिक्षा दिक्षामा केन्द्रित हुनु पर्ने । यि सवै जिम्मेवारी पूरा गरेर राजनीतिमा स्थापित हुनु निश्चयनै कठिनाईको बिषय हो । तर अहिले धेरै महिलासाथीहरु राजनीतिमा आई रहनु भएको छ । क्षमतावान पनि हुनुहुन्छ । हाम्रै पार्टीमा धेरै महिलाहरु छौं । अब आशा गरौं, पहिलाको जस्तो नहोला । महिलाहरु पनि नेतृत्वमा स्थापित हुँदै जानेछन् ।

शिक्षा, राजनीति तथा सामाजीक क्षेत्रमा महिलाहरुको सहभागीता बढि रहेको छ तर पनि महिला माथि हुने हिंसा किन रोकिन सकेको छैन, यसका लागि अनेमसंघ के गर्दैछ ?
हाम्रो संगठन त स्थापनाकाल देखिनैं महिला अधिकार स्थापना र हिंसा नियन्त्रणका लागि क्रियाशिल रहँदै आएको छ । अझै पनि त्यसका लागि बिभिन्न कार्यक्रम गरि रहेको छ । तर समाजका हरेक क्षेत्रमा महिलाको पहुँच बढे पनि हिंसा नरोकिनुको कारण भने एउटा तथ्याङ्कगत बिषय पनि हुन सक्छ । हिजो महिलाहरु अनेक यातना पाउँथे, हिंसा पाउँथे तर आफ्नै भाग्यलाई दोष दिएर जीवन भरि सहि रहन्थे । तर अहिले कम्तिमा हिंसा सहनु हुन्न र न्यायका लागि उजुरी गर्नु पर्छ भन्ने चेतना बढेको छ । यसरी हेर्दा उजुरीको चेतनाका कारणले पनि केहि वर्ष अघि सम्म उजुरीनैं नगर्ने, बाहिरनैं नल्याउने प्रवृती रहेको भन्दा त बढेको देखिन सक्ला । र अर्को कुरा हिंसा नियन्त्रण शिक्षा लिएर वा दिएर मात्रै नहुने रहेछ । दाईजो, सन्तान वा अन्य बिषयमा विपन्न र अशिक्षित परिवारमा मात्र होईन सम्पन्न र शिक्षित परिवारमा पनि महिला माथि हिंसा भई रहेका छन् । त्यसैले हिंसा नियन्त्रणका लागि शिक्षा मात्र होईन चेतनाको खाँचो देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *